खाेज्नुहाेस

कैलालीमा रैथाने थारु आलु प्रवर्द्धन गरिँदै, बीउ पाउन भने मुस्किल

Image

अत्तरिया – कैलालीमा थारु आलु प्रवर्द्धन गर्न विभिन्न कार्यक्रम सञ्चालन गरिएका छन् । स्वास्थ्यवर्धक, स्वादिलो, भण्डारण गर्दा लामो समयसम्म नकुहिने र डढुवा लगायतका रोग सहन सक्ने भएकाले यस आलुको प्रवर्द्धन गर्न कार्यक्रम सञ्चालन गरिएका हुन । हाइब्रिड र अन्नत जातको आलुले बजार ओगटेको भए पनि यस्तो आलुको खेती गर्दा किसानहरूले विभिन्न रोग किराको समस्या झेल्नुपर्ने, भण्डारण गर्दा पनि कुहिने समस्या हुने भएकाले पछिल्लो समय रैथाने थारु आलुको प्रवर्द्धन गर्न लागिएको छ । थारु आलु प्रवद्र्धनको लागि कैलालीमा प्रदेश सरकार र स्थानीय तहबाट विभिन्न कार्यक्रम सञ्चालन गरिएका छन् ।

कैलालीको गोदावरी नगरपालिकाले चालु आर्थिक वर्षमा रैथाने थारु आलु प्रवर्द्धनका लागि निःशुल्क बीउ वितरण कार्यक्रम ल्याएको छ । तर, किसानको माग अनुसार बीउ नपाइएपछि भने कार्यक्रम सञ्चालनमा चुनौती देखिएको छ । कृषि शाखाकी प्रमुख नन्दी मल्लले २ सय क्वुन्टेल थारु आलुको किसानबाट माग भए पनि ४५ क्वुन्टेल मात्रै वितरण गर्न सकिएको बताइन् । उनले शाखाबाट ९३ क्वुन्टेल बीउ वितरणका लागि बजेट विनियोजन गरिएको भए पनि ठेकेदारले बीउ उपलब्ध नै गराउन नसकेको बताइन् । ‘ठेकेदारले अहिले पनि बीउ खोजिरहेको छु भन्दै छ । तर, बिउ पाउने सम्भावना एकदमै कम छ’ उनले भनिन् ‘थारु आलु कैलाली, कञ्चनपुर, बाँके बर्दियामा हुने भए पनि यस वर्ष बीउको एकदमै अभाव भएको छ ।’

attariya hospital

नगरपालिकाले असोज ६ गते जीआइजेड÷ग्रेप परियोजना सँगको साझेदारीमा निःशुल्क रैथाने थारु आलुको शत प्रतिशत अनुदानमा बीउ लिन इच्छुक किसानबाट आवेदन माग गरेको थियो । जसमा समूह र व्यक्ति गरेर १३६ किसानबाट बीउको माग गर्दै आवेदन आएको कृषि शाखा प्रमुख मल्लले बताइन् । उनले कम्तीमा ५ कट्ठा खेतमा आलु लगाउने किसानबाट आवेदन माग गरिएको बताइन । ‘एक कट्ठा बराबर ३५ देखि ४० केजी आलुको बीउ आवश्यक पर्छ’ उनले भनिन् ‘जसअनुसार किसानको आवेदन धेरै आए पनि ५० प्रतिशत पनि माग पुर गर्न सकिएको छैन ।’

चालु आर्थिक वर्षमा कैलालीकै गौरीगंगा नगरपालिकाले पनि थारु आलु प्रवर्द्धनका लागि ५० प्रतिशत अनुदानमा बीउ वितरण गर्ने कार्यक्रम ल्याएको थियो । तर, पालिकाले रैथाने थारु आलुको बीउ नपाउँदा कार्यक्रम रद्द हुने अवस्था आएको जनाउको छ । पालिकाको कृषि शाखाका कृषि प्राविधिक सहायक विनोद चौधरीले कार्यक्रमका लागि ६३ क्विन्टल बीउ खरिदका लागि आपुर्तीकर्ताको लागि सूचना जारी गरेकोमा कसैले पनि आवेदन नदिएको बताए । पालिकाले असोज १८ गते सूचना जारी गरेको थियो । ७ दिने सूचना अवधिमा कसैले पनि आवेदन दिएनन् ।

कृषि प्राविधिक सहायक चौधरीले बिउ आपुतीकर्ता नपाएर कार्यक्रम सञ्चालन गर्न समस्या भएको बताए । ‘रैथाने बाली भए पनि मानिसहरूले यसको खेती गर्न छोडेका छन्’ उनले भने ‘गत वर्ष नेपालगंञ्जबाट बिउ ल्याएर कार्यक्रम सञ्चालन गरेका थियौ । यो वर्ष बिउ कतै पनि पाइरहेको छैन ।’ उनले थारु आलुको संरक्षण गर्नको लागि कार्यक्रम ल्याएको भए पनि बीउ नपाउँदा समस्या भएको बताए । उनले गाउँघरमा पनि बीउ नपाइने गरेको बताए ।

navjiwan hospital

कैलालीमा रैथाने थारु आलु प्रवद्र्धनका लागि प्रदेश सरकार अन्तरगतको कृषि ज्ञान केन्द्रले पनि कार्यक्रम सञ्चालन गरेको छ । ज्ञान केन्द्रले कैलालीको घोडाघोडी र टीकापुरमा थारु आलु प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्न लागेको कृषि ज्ञान केन्द्रकी कृषि प्राविधिक प्रतीक्षा अधिकारीले बताइन् ।

कृषि ज्ञान केन्द्रका सूचना अधिकारी श्यामा राज जोशीले थारु आलुको बीउ वितरणका लागि हाल ज्ञान केन्द्रबाट आवेदन माग गरिएको बताए । उनले कार्तिक ५ गते सम्म आवेदन सङ्कलन गरेपछि बिउ वितरणको कार्यक्रम सञ्चालन गरिने बताए ।

उनले थारु आलुको बीउ स्थानीय स्तरमै पाइने भएकाले बीउ पाउन समस्या हुने गरेको बताए । ‘यो बीउ प्रमाणीकरण भएको हुँदैन । यो बीउ स्थानीय स्तरमै किसानबाट सङ्कलन गरिने हो’ उनले भने ‘यो बीउको उत्पादन ठुलो परिणाममा एउटै किसानले गर्दैनन् । थोरै–थोरै लगाउने भएकाले एक ठाउँमा बीउ पाउन समस्या छ ।’ उनले गोदावरी नगरपालिकामा थारु आलुको व्यापक कार्यक्रम सञ्चालन गर्न खोजिए पनि बीउको अभाव देखिएको बताए । कृषि ज्ञान केन्द्र कैलालीले गत वर्ष ६० हेक्टर क्षेत्रमा आलु प्रवद्र्धन कार्यक्रम सञ्चालन गरेको थियो । ज्ञान केन्द्रले ५० प्रतिशत अनुदानमा बीउ वितरण गर्दै आएको छ ।

थारु आलुको लोकप्रियता बढ्दै गएको भए पनि व्यवसायीक रूपमा यसको बिउ उत्पादन नहुँदा यसको संरक्षण र व्यवसायीक उत्पादन गर्न समस्या हुँदै आएको छ । थारु आलु चाँडै फल्ने र राम्रो फसल दिने उन्नत र हाइब्रिड जातका आलुको तुलनामा कम उत्पादन दिए पनि स्वादिलो र बजारमा मूल्य पनि बढी पाइन थालेपछि पछिल्लो समय थारु आलु प्रति उपभोक्ताको पनि आकर्षण बढ्दो छ ।

यो आलु लामो समय सम्म भण्डारण गर्न सकिने भएकाले सिजन भन्दा पछि पनि किसानहरूले बिक्री गर्न पाउने भएकाले राम्रो मूल्य पाउने गरेका छन् । सुदूरपश्चिमका कैलाली कञ्चनपुरमा रैथाने थारु समुदायमा वर्षौँ पहिले देखि खेती गरिँदै आएको छ । कैलालीमा यसको कति क्षेत्रफलमा खेती गरिन्छ भन्ने बारेमा कृषि ज्ञान केन्द्र कैलाली सँग यकिन तथ्याङ्क नभए पनि यो आलु थारु बस्ती भएका कैलालीका सबै क्षेत्रमा खेती गरिँदै आएको छ ।

कैलालीमा ६ हजार हेक्टर क्षेत्रफलमा आलु खेती गरिँदै आएकोमा त्यसको २५ प्रतिशत क्षेत्रफलमा थारु आलु खेती गरिँदै आएको अनुमान कृषि ज्ञान केन्द्र कैलालीको छ । यो आलु चौधरी समुदायमा किसानले घरमै परम्परागत प्रविधि प्रयोग गरेर लामो समय सम्म भण्डारण गरेर राख्ने भएकाले यसका लागि कोल्ड स्टोर पनि आवश्यक नपर्ने कृषि प्राविधिकहरूको भनाइ छ ।