अत्तरिया – कैलालीको अत्तरियामा रहेको मानाङ्क बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्पन्न भएको छ । शुक्रबार एक कार्यक्रमका बिच संस्थाको १३औ वार्षिक साधारण सभा सम्पन्न भएको हो ।
संस्थाका अध्यक्ष वेदप्रकाश पाण्डेयको सभापतित्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिदत्त भट्ट रहेका थिए । कार्यक्रममा नेपाल बचत तथा ऋण सहकारी संघकी केन्द्रिय सञ्चालक समिति सदस्य दिप्ती शाही, नगरपालिकाका सहकारी शाखा प्रमुख दिव्यराज जोशी लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

२०६८ सालमा २६ जनाको १ लाख २५ हजार शेयर पुँजीबाट सुरु भएको सहकारीको हाल २ करोड ३१ लाख ४६ हजार ६ सय शेयरपुँजी रहेको छ । संस्थाले हाल अत्तरियामा आफ्नै भवन निर्माण गरेको छ । जहाँ उक्त संस्थाको केन्द्रिय कार्यालय रहेको छ । भाडाको घरमा सञ्चालनमा रहेको सहकारीले गत आर्थिक वर्षमा १ करोड ३७ लाख खर्च गरेर अत्तरियाको रिङ्ग रोडमा नयाँ भवन खरिद गरेको थियो । संस्थाले केन्द्रिय कार्यालय सहित अत्तरियाको महेन्द्रनगररोडमा र गेटामा सेवा केन्द्रहरु सञ्चालनमा ल्याएर सेवा दिदै आईरहेको छ ।
कार्यक्रममा सहकारीको वार्षिक प्रतिवेदन सहकारीका अध्यक्ष वेद प्रकाश पाण्डेले प्रस्तुत गरेका थिए भने संस्थाको आर्थिक प्रतिवेदन संस्थाका लेखासमिति संयोजक हरिदत्त भट्टराईले प्रस्तुत गरेका थिए । कार्यक्रममा संस्थाको लेखापरिक्षण प्रतिवेदन मुख्य प्रबन्धक प्रकाश कुमार जोशीले प्रस्तुत गरेका थिए ।
लेखापरिक्षण प्रतिवेदन अनुसार संस्थाको जगेडा तथा अन्य कोषको रकम आर्थिक वर्ष २०७९/०८० को तुलनामा बराबरी नै छ । उक्त आर्थिक वर्षमा संस्थाको उक्त कोषहरुको रकम १ करोड ३२ लाख ३१ हजार ७३७ रहेकामा आर्थिक वर्ष २०८०/०८१ मा थोरै बढेर १ करोड ३२ लाख ३२ हजार १८८ रुपैया पुगेको छ । संस्थाको बचत रकम भने बढेको देखिएको छ ।

संस्थाको बचत आर्थिक वर्ष २०७९/०८० मा १० करोड १६ लाख ९५ हजार ८२० रहेकोमा आर्थिक वर्ष २०८०/०८१ मा बढेर ११ करोड ४ लाख ४६ हजार ७०२ पुगेको छ । संस्थाले उक्त आर्थिक वर्षको तुलनामा बाह्य ऋणलाई भने केही घटाएको छ । उक्त आर्थिक वर्षमा ४ करोड ८९ लाख ५१ हजार १८४ रुपैया बाह्य ऋण रहेकोमा संस्थाले आर्थिक वर्ष २०८०/०८१ मा घटाएर ४ करोड ५० लाख ९५ हजार ८८ पु¥याएको छ । संस्थाले आर्थिक वर्ष २०८०/०८१ मा २ करोड २८ लाख ७० हजार ९४७ रुपैया तरलता राखेको छ भने १९ लाख २८ हजार २८१ रुपैया नाफा आर्जन गर्न सफल भएको छ ।
उक्त सहकारी राष्ट्रिय सहकारी बैंक लिमिटेडको २०औ वार्षिक साधारण सभाबाट उत्कृष्ट प्रादेशीक सदस्यबाट सम्मानित समेत भएको थियो । सहकारी बैंकले आफ्ना शेयर सदस्य सहकारीहरुमध्येबाट बचत तथा ऋण कारोबार गर्ने सुदूरपश्चिमकै उत्कृष्ट सहकारीका रुपमा मानाङ्कलाई सम्मान गरेको हो ।
उत्कृष्टलाई सम्मान
साधारण सभाको अवसरमा सहकारीले विभिन्न क्षेत्रका उत्कृष्टहरुलाई सम्मान गरेको छ । सहकारीले उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणी एवम् उत्कृष्ट शेयरसदस्यहरुलाई सम्मान गरेको छ ।

उत्कृष्ट शेयरसदस्यमा सुरज थापा र योगेश भट्ट सम्मानित भएका छन भने उत्कृष्ट ऋणीमा जगन्नाथ गुप्ता र प्रकाश कामी सम्मानित भएको संस्थाका मुख्य प्रबन्धक प्रकाश कुमार जोशीले जानकारी दिए ।
उनले उत्कृष्ट बचतकर्तामा गणेश केसी र गणेश सिँह बुढाथोकीलाई सम्मानित गरिएको बताए । संस्थाले प्रत्येक वर्ष सहकारीको वृहत्तर विकासमा टेवा पु-याउने विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई सम्मान गर्दै आईरहेको उनले बताए ।



















