धनगढी – सुदूरपश्चिमको बजेट आउन अझै ढिलाई हुने देखिएको छ । भदौ २० गतेभित्र प्रदेश सभामा बजेट प्रस्तुत गर्ने प्रदेश सरकारले तयारी गरेको भएपनि प्रविष्ट गर्ने कार्य अझै बाँकी रहेकाले केही समय लाग्ने देखिएको छ ।
अहिले असार १ गते प्रदेश सभामा प्रस्तुत नियमित बजेट आउन नसकेपछि अर्को बजेटको तयारी भइरहेको छ । यतिबेला यहाँका मन्त्रालय, मातहतको कार्यालयमार्फत धमाधम बजेटका कार्यक्रम प्रविष्ट भइरहेका छन ।


आर्थिक मामिला राज्यमन्त्री प्रकाश बमले भने, ‘भदौ २० गतेभित्र बजेट ल्याउने तयारी थियो । तर काम अझै बाँकी नै रहेकाले केही समय लाग्न सक्छ । २५ गतेभित्र बजेट प्रस्तुत गर्ने तयारी छ ।’
तत्कालीन सरकारले असार १ गते प्रदेश सभामा प्रस्तुत विनियोजन विधेयक ९बजेट० पास नभएपछि नवगठित सरकारले नयाँ बजेट ल्याउँदै छ । पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारी नेतृत्वको सरकारले गत असार १ गते प्रदेश सभामा विनियोजन विधेयक ९बजेट० पेस गरेको थियो ।
तर राजनीतिक घटनाक्रममा आएको फेरबदलले प्रदेश सरकारले प्रदेशसभाबाट बजेट पास गर्न सकेन । साउन २० नियुक्त मुख्यमन्त्री कमल बहादुर शाह नेतृत्वको सरकारले नयाँ बजेट ल्याउन लागेको हो ।



















