अत्तरिया – सडकमा गन्हाउने फोहोरका कारण होटलमा आएका ग्राहक फर्किदा रवीन्द्र खड्काले आफूलाई लज्जित महसुस गर्छन् । ‘होटल अगाडि सडकमा फोहोर पानी जमेको छ । त्यो फोहोर देखेर होटलमा आएका ग्राहक बस्न अप्ठ्यारो मान्छन्’ उनी भन्छन् ‘सडकमा जमेको फोहोरका कारण हामीले लज्जित हुनुपरेको छ ।’ बसपार्क नजिकै होटल भएकाले उनको होटल छेउ भएर सुदूरपश्चिमका प्राय सबै जिल्लाका मानिस ओहोर दोहोर गर्छन् । तर, गन्हाउने पानी होटल अगाडि जमेका कारण ग्राहकहरू कस्तो फोहोर ठाउँ भन्दै नाक खुम्च्याउन्छन । होटल व्यवसायी खड्काले ५ वर्ष देखि समस्या उस्तै रहे पनि नगरपालिकाबाट सुनुवाइ नभएको बताए ।
सुदूरपश्चिमको केन्द्र, मुटु, संगम स्थलको उपमा पाएको अत्तरिया नाला सफा नगरिँदा अहिले लज्जित बनिरहेको छ । अत्तरियाको पहाड रोडको नालामा फोहोर भरिएको छ । फोहोरले नाला भरिएका कारण बसपार्क देखि बगेर आउने पानी सर्भिस लेन सडकमा जम्ने गरेको छ । जसका कारण बसपार्क देखि अत्तरिया चोक सम्मको सर्भिस लेन सडक पुरै हिलाम्मे र गन्हाउने पानीले भरिएको छ ।


स्थानीय व्यवसायी दीपक मायाल्तीले नाली भरिएका कारण पानी निकास रोकिएर सडकमा पानी जम्ने गरेको बताए । उनले बिहान नगरपालिकाको ट्याक्टर आएर जम्मा गरेको फोहोर उठाएर लग्ने गरेको भए पनि सडकमा जमेको पानी र फोहोर उठाउन ध्यान नदिइएको बताए । सडकमा फोहोर पानी जमेकाले व्यापार व्यवसाय गर्न पनि समस्या भएको उनले बताए ।

‘उसै पनि व्यापार व्यवसाय घटेको छ । सटरको भाडा तिर्नै समस्या छ’ उनले भने ‘सडकमा फोहोर पानी जमेकाले झन् आउने ग्राहक पनि फर्किएर जाने गरेका छन् ।’ उनले मुख्य सडकबाट ग्राहकलाई पसल सम्म आउनै गाह्रो हुने गरेको बताए । ‘अत्तरिया चौराहा जस्तो सुन्दर राजधानी तोकिएको ठाउँमा यस्तो फोहोर देखेपछि त राम्रो कसैलाई पनि लाग्दैन’ उनले भने ‘बाहिरबाट आउने मान्छेले पनि सडक हिलो भएकाले पसल सम्म आउन सक्ने अवस्था हुँदैन । सिधै जाने गरेका छन् ।’
स्थानीय व्यवसायी डिकेले सडकमा पानी जमेका कारण रोगको संक्रमण फैलिने जोखिम रहेको बताए । ‘डेङ्गु जस्ता विभिन्न खतरनाक रोग आइरहेका छन् । यस्तो फोहोर हुँदा रोग लाग्ने जोखिम बढेको छ’ उनले भने ‘दूषित पानी जमेका कारण रोग लाग्ने भयानक डर छ ।’ उनले नाला सफा नगरिँदा चोकमै पानी जम्नु लज्जास्पद विषय भएको बताए ।

‘सुदूरपश्चिमको मुटु, केन्द्रबिन्दुमा यस्तो फोहोर पानी जम्दा स्थानीयले नभनीकनै सफा गर्नुपर्ने हो’ उनले भने ‘हाम्रो यसमा एकदम गुनासो छ । यसलाई सफा गरिदिएको भए राम्रो हुन्थ्यो ।’ उनले सडकमा फोहोर पानी जम्ने भएकाले व्यापार व्यवसायमा ठुलो असर परेको बताए । ‘फोहोर पानी सडकमा जमेको देखेर ग्राहकहरू भाग्ने गरेका छन् । पसल सम्म आउने बाटो नै छैन’ उनले भने ‘समस्या भएको ५ वर्ष भइसकेको छ । अहिले सम्म सुनुवाइ भएको छैन ।’ उनले नाला व्यवस्थापन नभएर समस्या भएकाले नालालाई व्यवस्थित पारिनु पर्ने बताए ।
उता नालाको अवस्था नाजुक हुँदा पनि स्थानीय सरकारले राष्ट्रिय राजमार्गमा पर्ने भन्दै संघ मार्फत मर्मत हुने भन्दै पन्छिँदै आएको छ भने संघले बजेट छुट्टाउने भन्दै हरेक वर्ष ठगिरहेको छ । अत्तरिया चोक वरिपरि करिब डेढ किलोमिटर नाला जताततै भत्किएका कारण अत्तरिया बजारको पानी निकास हुन पाएको छैन । अत्तरियाको पहाड रोड, पूर्व रोड र महेन्द्रनगर रोडमा भत्किएका यी नालाका कारण दुर्घटनाको जोखिम समेत बढेको छ ।


















