खाेज्नुहाेस

अत्तरियामा कोटी होम गरेर स्थापना गरिएको शिव मन्दिरको जग्गा दोहन

Image

अत्तरिया – लामो समय देखि लथालिङ्ग अवस्थामा रहेको अत्तरिया स्थित शिव मन्दिर व्यवस्थापन समितिको सचिवालय भत्काइएको छ । मन्दिर व्यवस्थापन समितिलाई जानकारी नै नदिई मन्दिरकै सुरक्षा गार्डको रूपमा कार्यरत दान बहादुर साउँदले सचिवालय भत्काएका हुन । यस विषयमा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पुष्प राज भट्टले कुनै जानकारी नदिइएको बताएका छन् ।

‘मैले पनि बिहान जानकारी पाएको थिए । त्यो केही छैन । त्यसलाई रोकिहालिन्छ’ उनले भने ‘मन्दिरले बनाएर दान बहादुर साउँदलाई त्यहाँ बस्ने भनेर दिएको हो । वहालाई हामीले कर्मचारी तोकेका छौ । बिहान भत्कायो भन्ने सुने मैले । भत्काए रामै भो अब त्यहाँ गेट बनाउँन्छौ ।’

attariya hospital

उनले भवन बनाउँदा दान बहादुरले लगाएको लगानी उनले पसल सञ्चालन गरे वाफत भाडा नलिने गरी मन्दिरकै रोहबरमा निर्माण भएको बताए । उनले जानकारी नै नदिई भत्काउने काम भने गलत भएको बताए । उनले भने ‘जानकारी नदिई भत्काउने मान्छे बेवकुफ हो । अब जानकारी नदिई बनाउन्छन भत्काउन्छन भने ठुलो कुरा भएन ।’

navjiwan hospital

सचिवालय भत्काएका दान बहादुर साउँदले भने आफ्नो व्यक्तिगत लगानीमा निर्माण गरेको भवन भएकाले नयाँ बनाउन भत्काएको तर्क गरेका छन् । हाल गोदावरी नगरपालिका – २ मा पर्ने शिव मन्दिरको जग्गामा करिब ५० वटा सटर सञ्चालनमा रहेका छन् । तर, समिति लथालिङ्ग हुँदा ती सटर बनेका जग्गाको विगत ४ वर्ष देखि भाडा उठाइएको छैन । सटरको भाडा उठाउने जिम्मा पाएका साउँदले सचिवले भाडा उठाउने लिस्ट नदिएकाले भाडा नउठाएको बताउँदै आएका छन् ।

उता व्यवसायीहरूले भने मन्दिर व्यवस्थापन समितिले भाडा उठाउने मान्छे नै नपठाएपछि भाडा नतिरेको बताउने गरेका छन् । ११ वर्ष अगाडि मन्दिर व्यवस्थापन समितिले समितिले १५ फुट बराबर जग्गाको १ हजार भाडा तोकेको थियो भने नदी किनाराको जग्गाको प्रति १५ फुट बराबर ३ सय भाडा दर तोकिएको थियो । भाडामा जग्गा लिएका व्यवसायीले आफैले सटर निर्माण गरेका थिए । सम्झौतामा मन्दिरको जग्गामा स्थायी संरचना बनाउन नपाउने, अवस्था हेर भाडा वृद्धि गरिने, मन्दिरलाई प्रतिकुल असर पर्ने माछा, मासु, मदिरा विक्री गर्न नपाइने उल्लेख भए पनि हाल सो क्षेत्रमा सम्झौता विपरीत पक्की संरचना निर्माण गरेर व्यवसाय सञ्चालन मात्रै गरिएको छैन मदिराको खुलेआम कारोबार समेत हुने गरेको छ ।

यसरी सम्झौता विपरीत काम हुँदा पनि व्यवस्थापन समिति भने मौन बसेको छ । समितिको लामो समय देखि साधारण सभा समेत हुन सकेको छैन । अध्यक्ष भट्टले भने अडिटको रिपोर्ट आउन ढिला भएका कारण साधारण सभा गर्न नसकेको बताए । विभिन्न बहाना बनाएर साधारण सभा नगरी मन्दिरको जग्गामा बनेका सटरको भाडा नलिइँदा मन्दिरले मासिक रूपमा हुने आम्दानी गुम्दै छ भने खुलेआम सम्झौता विपरीत मन्दिरको जग्गा दोहन हुन पुगेको छ ।

मन्दिरका पुजारी काली नाथ योगीले मन्दिर निकै नाजुक अवस्थामा रहेको बताए । उनले मन्दिर व्यवस्थापन समितिका कारण मन्दिर लथालिङ्ग भएको बताए । मन्दिरको जग्गा भाडामा दिएर आम्दानी हुने भनिए पनि हाल कुनै पनि सम्झौता कार्यान्वयन नभएको उनले बताए ।

तिन दशक अगाडि स्थापना गरिएको उक्त मन्दिरमा हाल गौरा र तिजको अवसरमा मेला लाग्ने गरेको छ भने विभिन्न पर्वहरूमा स्थानीयले पूजाआजा पनि गर्ने गरेका छन् । मन्दिरमा विवाहका कार्यक्रम पनि सञ्चालन हुने गरेका छन् । मन्दिरका पुजारी योगीका अनुसार उक्त स्थानमा नरहरि नाथले कोटी होम लगाएर मन्दिरको स्थापना गरेका थिए ।