सन्तोष पन्त, कञ्चनपुर – कञ्चनपुरको बेलौरीमा १५ शय्याको अस्पताल भवन निर्माणको काम अलपत्र परेको छ । बेलौरी नगरपालिकाले ठेकेदारको काम सुस्त गरेको भन्दै बैङ्क ग्यारेन्टी रोक्दा ठेकेदार अदालत पुगेपछि काम अलपत्र परेको हो ।
स्थानीय तहमा २०७७ सालमा प्रधानमन्त्री केपी शर्मा ओलीले देशैभर एकै चोटि ५/१०/१५ शय्याको अस्पताल निर्माण गर्न भर्चुअल माध्यमबाट बेलौरी अस्पतालको पनि उद्घाटन गरिएको थियो ।

सोही अनुसार २०७८ असोज १५ गते नगर अस्पताल निर्माणका लागि सीएम प्रशंसा रश्मि जेभी सँग ठेक्का सम्झौता भएको थियो । २०८० असोज १५ गते सम्म काम सक्ने गरी ठेक्का सम्झौता भए पनि काम नसकिएपछि २०८१ असोज १५ सम्म म्याद थप गरिएको थियो ।

थपिएको म्याद बाँकी भए पनि नगरपालिकाले काम निकै सुस्त गतिमा गरेको भन्दै कार्यपालिकाबाटै निर्णय गरेर असार ५ गते ठेकेदारको धरौटी रोकेपछि निर्माण कम्पनीका ठेकेदारले असार १३ गते उच्च अदालतमा रिट दायर गरेका छन् । हाल उक्त रिटको सुनुवाइ हुन बाँकी रहँदा भवन निर्माणको काम पनि अलपत्र परेको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारा दत्त अवस्थीले थपिएको म्यादमा पनि निर्माण कम्पनीले सुस्त गतिमा काम गरेपछि बैङ्क ग्यारेन्टी रोकिएको बताए ।
निर्माण कम्पनीका प्रतिनिधि गणेश विष्टले भने अहिले वर्षातको समय भएकाले काम गर्न गाह्रो भएको बताए । उनले भवन ढलानको काम मात्रै बाकी रहेकाले वर्षात रोकिने बित्तिकै काम सक्ने दाबी गरे ।
भवन निर्माणको लागि नगरपालिकाले १० करोड ८३ लाखमा ठेक्का सम्झौता गरेको हो । बेलौरी नगरपालिकाका इन्जिनियर जगदीश जोशीले भने अदालतमा मुद्दा विचाराधीन भएकाले बोल्न नमिल्ने बताए ।

















