खाेज्नुहाेस

अत्तरियामा टालिएका सडकका खाल्डा एक सातामै उप्किए

Image

अत्तरिया – नेपालमा असारे विकास रोग पुरानै हो । जसबाट बजेटको दुरुपयोग मात्रै भएको छैन मापदण्ड विपरीत गुणस्तरहीन काम हुँदा सर्वसाधारणले पनि दुख भोग्नु परिरहेको छ ।

यही नियतिको सिकार सुदूरपश्चिमको ७ जिल्ला जोड्ने भीमदत्त  राजमार्ग पनि बनेको छ । असारको झरि सँगै खाल्डा टाल्न हालिएको कालोपत्रे पानीको भेल सँगै बगेको छ । घाम लागेको समयमा गरिनुपर्ने कालोपत्रे असार मसान्तरमा काम सक्नुपर्ने भन्दै पानी परेकै समयमा टालटुल गरिदा अहिले टालिएका खाल्डा पुरानै अवस्थामा फर्किएका छन् । सडक डिभिजन कार्यालय महेन्द्रनगरले भीमदत्त राजमार्ग अन्तरगत अत्तरिया देखि तेघरी आर्मी ब्यारेक सम्म असार मध्य तिर खाल्डा टालटुल गरेको थियो । जुन एक साता नपुग्दै पुनः पुरानै खाल्डामा परिणत भएका छन् ।

attariya hospital

सडक किनारामा बसोबास गर्ने स्थानीयले खाल्डा टालिएको एक सातामा उप्किएको देखेर आफूहरू आश्चर्य चकित परेको बताएका छन् । स्थानीय पदम बहादुर बलायरले कालोपत्रे भएको ११/१२ दिन पुगे पनि धेरै ठाउँमा उप्किसकेको बताए ।

‘यो कस्तो काम होला । अचम्मको काम भयो’ उनले भने ‘पहिला खाल्डा भएको ठाउँमा अझै खनेर माथिबाट कालोपत्रे हालिएको थियो । त्यो कालोपत्रे हालेकै दिन गइसकेको थियो । खाल्डाखुल्डी भएका थिए । एक हप्ता भित्रै सबै गयो ।’ स्थानीय पुरन बहादुर चौधरीले पानी पर्नु भन्दा अगाडि गरिएको कालोपत्रे त्यति बेलै फुटेको बताए ।  उनले भने ‘किन यति चाडै कालोपत्रे गरेको सडक फुट्यो हामीले बुझ्नै सकेका छैनौ । कमजोर काम गरेरै यस्तो भएको होला ।’

navjiwan hospital

स्थानीय टेक बहादुर साउँदले खाल्डा टालिएको भए पनि सडक पुरानै अवस्थामा पुगेको बताए । उनले भने ‘केही दिन अगाडि खाल्डा टालिएका थिए । पहिले जस्ता खाल्डा थिए अहिले त्यस्तै भइसकेका छ ।’ उनले काम गराइको कमजोरीका कारण यस्तो भएको हुन सक्ने बताए । उनले खाल्डा टालेपछि पानी आएर सबै उप्किएको बताए । अर्का स्थानीय टेक बहादुर देउवाले पुनः पुरानै अवस्थाका खाल्डा हुँदा दुर्घटनाको जोखिम बढेको बताए । उनले कमजोर काम गरिदा टालिएका खाल्डा एक सातामै भत्किएको हुन सक्ने बताए ।

सडक डिभिजन भन्छ फेरी मर्मत गर्छौ

सडक डिभिजन कार्यालय महेन्द्रनगरले भीमदत्त राजमार्ग अन्तरगतकै भ्यागुतेपानीमा भत्किएको सडक सँगै अत्तरिया क्षेत्रका खाल्डा पुर्नको लागि महाकाली कन्स्ट्रक्सन सँग ठेक्का सम्झौता गरेको थियो । उक्त कन्स्ट्रक्सन सँग कार्यालयले असार मसान्त सम्म काम सक्ने गरी ४० लाखमा ठेक्का सम्झौता गरेको थियो ।

असार मसान्तभित्रै काम सक्नुपर्ने भएकाले पानी परेकै समयमा काम गरिदा कालोपत्रे उप्किएको सडक डिभिजन कार्यालय महेन्द्रनगर इन्जिनियर तारानाथ सिग्देलले बताए । उनका अनुसार ठेक्का अन्तरगत मुख्य काम भ्यागुतेपानीमा भए पनि अत्तरिया क्षेत्रमा सानातिना खाल्डा पुर्नको लागि सम्झौता गरिएको थियो । ‘भ्यागुतेपानीमा करिब ३ सय मिटर सडक कालोपत्रे भएको छ । रिकभरी मेन्टनेन्स अन्तरगत अत्तरिया क्षेत्रमा पनि खाल्डा पुरिएका थिए’ उनले भने ‘पानीले धेरै समस्या ग-यो । त्यहाँ नालीको समस्या रहेछ । पानी सबै सडकमै बग्यो । जसले समस्या भयो ।’

उनले अब पानी कम भएपछि पुनः खाल्डा पुरिने बताए । ‘पानीमै काम गरे फेरी उप्किने समस्या हुन्छ । अब अलिकति पानी कम भए पनि भदौतिर फेरी काम गराउँछौ’ उनले भने ‘पुन खाल्डा टाल्ने काम पुरानै ठेक्का अन्तरगत ठेकेदारले गर्छ ।’ उनले थोरै काम मात्रै बाकी रहेकाले असार मसान्तमा सकिहालौँ भन्ने हिसाबले काम गरिदा समस्या भएको बताए ।