खाेज्नुहाेस

झन्–झन् डुब्दै अत्तरिया

Image

अत्तरिया – कैलालीको अत्तरियामा डुबानै नहुने क्षेत्र पनि डुब्न थालेका छन् । डुबानै नहुने ठाउँको रूपमा चिनिने अत्तरियामा पछिल्ला वर्षहरूमा थोरै वर्षा हुँदा पनि डुबान हुन थालेको हो । पछिल्लो समय अत्तरिया चोक देखि भित्री बस्ती सबैतिर डुबान हुने गरेको छ । अव्यवस्थित रूपमा सहरीकरण भइरहेको अत्तरियामा एकातिर प्राकृतिक खोला, नाला अतिक्रमण हुनु र अर्कोतिर उचित ढल निकास हुने गरी सडक निर्माण नहुँदा डुबानको समस्या वर्षेनी बढ्दै गइरहेको छ ।

अत्तरिया बजार क्षेत्रको वर्षादको पानी निकास हुने अधिकांश खोला नालाहरू अहिले अतिक्रमणको चपेटामा परेका छन् भने कतै खोलानालाको नामोनिसान मेटिएको छ । वन संरक्षणकर्मी टिक दत्त जोशीले अत्तरिया बजार क्षेत्रमा पानी निकास हुने खोला नाला पुरिएपछि डुबान बढेको बताए । उनले डुबानको मुख्य कारण नै खोलानाला भएको अतिक्रमण रहेको बताए ।

attariya hospital

उनका अनुसार पछिल्लो केही दशक यता अत्तरियाको महेन्द्रनगर रोड र पूर्व रोडमा रहेका २ वटा कल्भर्ट सहित खोलाको नामोनिसान मेटिएको छ । ‘अत्तरियाको महेन्द्रनगर रोडमा चोक देखि १ सय मिटर अगाडी कल्भर्ट थियो । जसको अहिले नामोनिसान छैन’ उनले भने ‘उक्त कल्भर्टबाट अत्तरियाको बसपार्क पछाडिको पानी निकास हुने गरेको थियो ।’

navjiwan hospital

उक्त कल्भर्ट पुरिएपछि अत्तरिया बसपार्क पछाडि, आदर्श टोल, समता टोल, लोटस गल्ली क्षेत्रमा डुबान हुने गरेको छ । अहिले उक्त कल्भर्ट सँगै खोला पनि अतिक्रमणमा परेको छ । राजमार्ग क्षेत्रमा उक्त खोलाको नामोनिसान मेटिएको छ भने तल्लो भागमा पनि अतिक्रमणमा परेर साघुरो नालामा परिणत भएको छ । जुन दिन प्रतिदिन अतिक्रमणको चपेटामा पर्दै गएको छ ।

वन संरक्षणकर्मी जोशीका अनुसार अत्तरियाको पूर्व रोडमा प्रहरी चौकी अगाडी पनि कल्भर्ट रहेको थियो । उक्त कल्भर्ट पनि अहिले कतै भेटिँदैन । जसका कारण अत्तरिया चोकमै पानी जम्ने गरेको जोशीको भनाइ छ ।

यी बजारको केन्द्रमा रहेका खोला नाला मात्रै नभएर छेउछाउका खोला पनि अहिले अतिक्रमणको चपेटामा छन् । अत्तरिया चोक देखि करिब ६ सय मिटर पश्चिममा रहेको कल्भर्ट भएर बग्ने खोला पनि अहिले नालामा परिणत हुने अवस्थामा पुगेको छ । खोलामै पिल्लर हालेर घर ठडिँदा खोला साघुरो बन्न थालेको छ । त्यस्तै अत्तरियाको पूर्व रोडमा रहेको सशस्त्र बाहिनी छेउको खोला पनि घरै घरले भरिन थालेको छ ।

दिन प्रतिदिन खोलाहरूमा अतिक्रमण बढिरहेको भए पनि यसलाई रोक्न भने सरोकारवाला निकाय स्थानीय तहले चासो देखाएको छैन । गोदावरी नगरपालिकाले पहिलो पटक २०७९ असोज १२ गते खोलानालाको अतिक्रमण गरी बनाएका संरचना हटाउन ९० दिने सूचना निकालेको थियो ।

सूचनामा ९० दिन भित्र संरचना नहटाए नगरले हटाउने उल्लेख थियो । तर, सूचनाको म्याद सकिएपछि पुस १३ गते पुनः ३० दिने सूचना जारी भए पनि त्यसपछि नगरपालिका मौन छ । अतिक्रमण हटाउन खुट्टा कमाएका जनप्रतिनिधि हाल यस विषयमा प्रश्न गर्दा विभिन्न बहाना बनाएर पन्छिने गरेका छन् ।