टेलरवाली, म अनि त्यो प्रेम

मोहन भट्ट, दार्चुला- दोस्रो लकडाउन चलिरहेको थियो । प्रशासनले तोकेको समयमा कार्यालयहरु खुल्न थालेका थिए । म पनि अफिसको कामले बेला बखत बैंकमा गइरहनु पर्ने हुन्थ्यो । महाराजगन्ज, नारायण गोपाल चोकमा एउटा बैंकको शाखा थियो । जुन मेरो पायक पनि थियो । म बेला बखत गइरहन्थे ।

maya metro hospital

आइतबारको दिन थियो । अनि सिमसिमे पानीमा छाता ओढेर बैंक पुगे । सदाझै भौचर भरेर लाइनमा बसे । एकछिन पछि मेरो पालो आयो । आज त्यहाँको नजारा अलि फरक थियो । टेलरमा नयाँ स्टाफ आएकी रहेछिन् । एक्कासी नजर जुध्न पुग्यो । अनि ठाउँको ठाउँ सहिद भए यी आँखाहरु । उनी आफ्नो काम गर्न थालिन् । तर म हेरिरहेको थिए । गोरो वर्ण कोरेको कालो केश अनि अलिकति कपाल कानमा सिउरिएको निकै सुन्दर देखिएको थियो । जमा भैसकेपछि भौचर लिएर म निस्किए । आँखामा त्यो मुहार झलझली आइरहेको थियो । अफिसमा पुगि सकेपछि पनि दिनभर त्यो हाउभाउ मलिन मुहारमा मन्द मुस्कान सम्झेर म मुस्काइरहेको थिए ।

त्यही दिन बेलुका ५ बजेतिर एक ल्याण्डलाइन नम्बर बाट फोन आउँछ । फोन उठाउने बितिक्कै उताबाट आवाज आउँछ – मोहन जी बोल्दै हुनुहुन्छ ? हजुर हो । ‘हजुरले अघि डिपोजिट गर्नुभाथ्यो नि, त्यसमा १५ रुपैयाँ फिर्ता रहेछ, लिन बिर्सनु भएछ नि । यो पैसा यता राख्न मिल्दैन आज नै लिन आउनुस है,’ त्यो आवाज त्यै टेलरवालीको थियो । मैले हस् म लिन आउँछु भन्दै फोन राखे ।

attariya hospital

तर विविध कारणले त्यो दिन म जान भ्याइन । भोलिपल्ट डिपोजिटको कामले पुनः गए । मेरो पालो आएर म अगाडि पुग्ने बितिक्कै हिजोको फिर्ता पैसा एउटा बट्टाबाट निकालेर दिइन् । हिजो एक झलक मात्र देखेको भए नि मेरो अनुहार याद गरिरहेकी रहिछिन् । पैसा दिदै गर्दा ‘हिजो नै आउनु भनेको आउनु भएन’ भन्दै मन्द मुस्कान छरिन् ।

दिनको एक/दुई चोटि बैंकमा जाने काम परिरहन्थ्यो । अरु बैंकमा पनि कम्पनीको खाता भएता पनि त्यै बैंक रोजिन्थ्यो । दिनहुँ टेलरवालीको मुस्कान हेर्ने अनि रातदिन मनमा कुरा खेलाइरहने यसरी नै चलिरहेको थियो दिनचर्या । एक दिनको कुरा हो बेलुका खाना खाइसकेर फेसबुक हेरिरहेको थिए । मेरो अँखा फ्रेण्ड सजेसनमा अडियो । आकर्षक प्रोफाइल, सेतो कुर्ता अनि निधारमा रातो टीका, राम्ररी नियालेर हेरे । त्यति पारदर्शी नभएनी ‘वर्किङ एट’ अनि ‘फ्रम काठमाडौँ’ यति चै देखिन्थ्यो। त्यो प्रोफाइल अरु कसैको नभएर त्यही टेलरवालीको थियो ।

मैले रिक्वेस्ट पठाए । त्यो रात एसेप्ट भएन । भोलिपल्ट बेलुका एसेप्ट भयो । मैले लगत्तै फेरि प्रोफाइल हेरे स्टोरीमा फोटो हालिएको थियो । मैले साह्रै राम्री भन्दै रिप्लाइ गरे । एकछिन पछि थ्याङ्क यू भन्दै जवाफ आउँछ । कुराकानीको सिलसिला लम्बिदै जान्छ । दिनप्रतिदिन सम्बन्ध गहिरिदै जान्छ । भिडियो कल गर्न खासै चासो दिन्नथिन् । तर च्याटमा चाहिँ खुबै रमाइलो कुराकानी गर्थिन् । ‘राति कल चै नगर्नु है । दाइले थाहा पाउनुभो भने मार्नुहुन्छ ।’ दाइ कोठामा किन आउँछ्न् त्यो नि सुतिसके पछि ? मेरो मनमा यस्तै कुरा खेल्यो तर होस् मैले त्यति चासो दिइन । दाइ आईटी कम्पनीमा काम गर्नुहुन्छ । राती नि ड्युटी पर्छ बेला बेलामा भन्ने गर्थिन् । यो बाहेक खासै खुलेर बताएकी थिइनन् घर परिवारको बारेमा ।

पुरानो बसाइ किर्तिपुर भएको र भूकम्पपछि यता सरेको बताएकी थिइन । हाम्रो बसाई पनि करिब नजिक नजिक भएकाले बेलुका छुट्टीपछि प्राय सङै गइन्थ्यो। मूल सडकभन्दा पछाडिको बाटो अलि शान्त हुने भएकाले हिड्दै गफ गर्दै जाने गर्थ्यौ । मेरो अलि चाडै छुट्टी भए पनि उनको लागि कुरिन्थ्यो । बाटोमा लजाउँदै मीठो कुरा गर्थिन् । बेला बेलामा कामको तनावले टाउको दुखेको छ भन्थिन् । तर पनि मुहारमा मुस्कान भने भरिपूर्ण हुन्थ्यो । टाउको दुखेको औषधी ल्याइदिम भन्दा नाइ पर्दैन मलाइ दबाइको होइन दुवाको आवश्यकता छ भन्दै मुस्माउँथिन् ।

अनि बेलाबखत मलाई किन यति माया गर्नु हुन्छ ? माया गर्ने मान्छे भएसी अरु केही चाहिदैन हजुरको साथीलाई । मलाइ हजुरको लत बस्ला जस्तो छ माया अलि कम गर्नु है । अनि अस्ति बाटोमामा बुकि फुल टिपेर दिनुभाथ्यो नि मलाई कत्ति लाज लाग्यो भित्रभित्रै । मान्छेले देख्यो भने लभ परेछ भन्लान् है भन्दै हाँस्थिन् । म पनि साहित्यिक जवाफ दिन्थे परोस् जुनीजुनीलाई परोस् लभ पर्ने नै भए अमर अटल भएर परोस् । मेरो कोठाभन्दा उनको अलिक टाढा थियो म कोठामा पुग्ने बितिक्कै ‘पुग्यौ ?’ भनेर म्यासेज पठाउँथे । कहिले छिट्टै त कहिले एकछिन पछि जवाफ आउथ्यो ।

कुराकानी र भेटघाटको सिलसिला अघि बढ्दै गयो । यो सम्बन्ध प्रेम सम्बन्धमा परिणत भयो । कुनै प्रवाह नगरी माया गरियो । भेटघाट र कुराकानी पनि बाक्लिदै गयो । छुट्टी भइसकेपछि रेस्टुरेन्टतिर जाने अनि छुट्टीको दिन घुम्न जाने क्रम बढ्यो । उसकै बारेमा गुणगान गाउँदै दिन बितेको पत्तै हुदैनथ्यो ।

प्रिय टेलटरवाली,
मेरो माया कहिले विथड्र गर्ने छैन, सधै डिपोजिट गर्नेछु ।
जमा रकमको ब्याजमा कर कट्टी गरे बराबर पनि माया कट्टी हुने छैन ।
पैसा सर्ट होला कहिलेकाहीँ तर मेरो मया सधै ओभरपास हुनेछ ।
स्ट्याक जति छोटो होइन टीएल जति लामो जिन्दगी कटाउने सोच छ तिमीसङ्ग ।
इन्टरनल अडिट जस्तो औपचारिकता पूरा गरेको होइन एक्सटर्नल अडिटझै सबै केलाएर भन्दैछु ।
म तिमीलाई धेरै माया गर्छु भन्दै कविता लेखिन्थ्यो बेलाबेलामा ।

भेटमा होस् या च्याटमा कुरा चाहिँ रामाइलो गर्थिन् । गोलो अनुहार त्यही माथि लजालु मुस्कानको लेपनले चन्द्रमा पनि हार खान्थ्यो । म बेला बेलामा भन्ने गर्थे चन्द्रमा पनि तिम्रो मुहार देखेर डाहा गर्छ होला है रु उनी मुस्कुराउदै जवाफ दिन्थिन् कचौराको पानीमा देखिने चन्द्रमाको प्रतिबिम्ब र वास्तविक चन्द्रमाबिच तुलना गर्न मिल्दैन नि । उनको यो जवाफ सुन्दा मलाइ आश्चर्य लाग्थ्यो अनि मेरो मनमा प्रेमको ज्वाला झन तेजिलो हुन्थो ।

यी सम्वादले राजा सन्तनु र गङ्गाबिचको प्रेमिल कथाको झझल्को आउथ्यो बेलाबखत । समय बित्दै गयो बातहरु अनि यादहरु थपिदै गए । घर परिवारको बारेमा भने उनले अझै पनि खुकेर बताएकी थिइनन् । कुनै दिन राती चाहिँ अनौठो तरिकाले गायब हुन्थिन् । किन यस्तो गरेकी भन्दा म छिट्टै सुतेको अथवा हिजो दाइको राती ड्युटी थिएन । मलाई दाइसङ्ग डर लाग्छ । जस्ता जवाफ आउँथे । एक दिन उसलाई चोकमा एक जना पुरुषसङ्ग हात समातेर बाटो काट्दै गरेको देखेको थिए । पछि सङ्गै बाटो काटिरहेको ब्यक्ति को थियो भनेर सोध्दा दाइ हो के कति सोधेको भनी झर्किन्थिन् ।

एक दिन बिहानै म फेसबुक चलाइरहेको थिए । फ्रेण्ड सजेसनमा एक व्यक्ति देखिए । टोलको तरकारी पसले लगायत एकदुई जना अरु पनि साझा साथी भएका ती व्यक्ति अरु कोहि नभएर त्यो दिन टेलरवालीसङ्ग बाटो काट्ने व्यक्ति थिए । मैले प्रोफाइल खोले अनि हेर्दै जाँदा आफ्नो विवाह मण्डपमा बेहुलीलाई सिन्दुर हाल्दै गरेको तस्बिर पोस्ट गरेका रहेछन् । ती बेहुली अरु कोही नभएर त्यै टेलरवाली थिइन् ।

म झसङ्ग भएँ । अहिलेसम्म भैय्या भनेर मलाई ढाँटेका व्यक्ति आज सैंया निस्किए । परिवारको बारेमा खुलेर न बताउनु, राती म सुतिसकेपछि फोन आको दाइले थाहा पाउनुहुन्छ भन्नुको रहस्य आज प्रष्ट भयो । एकछिन लाग्थ्यो नराम्रो सपनापछि निन्द्रा खुलेझै भैदिए, ए म त सपना मा पो रहेछु भन्दै चित्त बुझाउन हुन्थ्यो । तर यो सपना पटक्कै थिएन ।

अहिलेसम्मका ती पलहरु झलझली आँखामा घुमिरहे । यो कुनै नयाँ पाठ सिकाउन समयले मलाई दिएको प्रशिक्षण होला सायद भन्दै यो कथाको पात्र टेलरवालीलाई एक शब्द पनि न बोली सबैतिर ब्लक गर्दै अहिलेसम्मका बातहरु, यादहरु र साथहरुलाई एक चिहान बनाउँदै अलबिदा गर्ने प्रयत्न गरे । तर लाग्दैन कि यो जुनीमा सफल हुनेछु ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.