काठमाडौँ– डोटीसहितका १० जिल्लामा सबैभन्दा बढी डेंगु सङ्क्रमित रहेका पाइएको छ । डोटीमा ४७ जनामा डेंगु सङ्क्रमण देखिएको हो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का अनुसार १० ओटा जिल्लामध्ये सबैभन्दा बढी काठमाडौँमा १४१ जनामा डेंगु सङ्क्रमण देखिएको छ । त्यस्तै, झापामा ११२ जना, चितवनमा ७५, मकवानपुरमा ५९, डोटीमा ४७, तनहुँमा ४६, सिन्धुपाल्चोकमा ४४, ओखलढुङ्गामा ४१, रुपन्देहीमा २८ र भक्तपुरमा २७ जनामा डेंगु सङ्क्रमण देखिएको छ ।

देशभरमा ७७ जिल्लामध्ये सबैभन्दा बढी डेंगु देखिएका १० जिल्लामा ६२० जनामा डेंगु पुष्टि भएको ईडीसीडीको तथ्याङ्क छ भने यी १० जिल्लाबाहेक ६२ जिल्लामा ६२१ जनामा डेंगु पुष्टि भएको छ । जुम्ला, हुम्ला, मुगु, डोल्पा र मुस्ताङ गरी पाँच जिल्ला डेंगु सङ्क्रमणबाट सुरक्षित छन् ।
















