डोटी- डोटीको बोगटान फुड्सिल गाउँपालिकाका विपन्न वर्गका ३३ जनालाई बाख्रा वितरण गरिएको छ । वडा नम्बर ३ कानाचौरका १७ जनालाई केही दिनअघि र वडा नम्बर २ केदार अखडाका १६ जनालाई बुधबार बाख्रा वितरण गरिएको हो ।

युएमएन डोटी कलस्टर र सिड नेपाल डोटीको साझेदारीमा सञ्चालित ‘बालबालिका उत्थानशील विकास परियोजना’ अन्तरगत विभिन्न समूहका न्यून आय भएका सदस्यहरूलाई बाख्रा वितरण गरिएको सिड नेपालका सामुदायिक विकास सहजकर्ता यम बमले बताए ।

उनका अनुसार विभिन्न गाउँ तथा टोलमा गठन भएका समूहहरूले छनोट गरेर पठाएका आर्थिक अवस्था कमजोर भएका लक्षित सदस्यहरूलाई प्रति व्यक्ति चार ओटा बाख्राका दरले १३२ ओटा बाख्रा वितरण गरिएको हो ।गाउँपालिकाको वडा नम्बर ५ धिर्कामाण्डौ र वडा नम्बर ६ गगुडामा पनि बाख्रा वितरण गरिने सिड नेपालले जनाएको छ ।

















