कैलाली – विभिन्न मुद्दामा अदालतबाट कैद सजाय र जरिवाना ठहर भई फरार रहेका दुई प्रतिवादीलाई कैलाली प्रहरीले पक्राउ गरेको छ।
जिल्ला अदालत कैलालीका विभिन्न मितिका फैसलाअनुसार फैसला कार्यान्वयनका क्रममा जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहतका कार्यालयबाट खटिएको प्रहरी टोलीले साउन १ गते दुवै प्रतिवादीलाई पक्राउ गरेको हो।


पक्राउ पर्नेमा घोडाघोडी नगरपालिका–५ निवासी ३५ वर्षीय बिरेन्द्रबहादुर नेपाल रहेका छन्। उनी बैंकिङ कसुर मुद्दामा दुई दिन कैद सजाय र २० हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका थिए।
यस्तै, लम्कीचुहा नगरपालिका–५ निवासी कम्मान सिंह विक पनि पक्राउ परेका छन्। उनी बहुविवाह मुद्दामा चार महिना २० दिन कैद सजाय र ५ हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका थिए।
पक्राउ परेका दुवै प्रतिवादीलाई फैसला कार्यान्वयनका लागि सम्बन्धित अदालतमा पेश गर्ने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।



















