किशोर तामाङ/पुनर्वास– कञ्चनपुरको पुर्नवासमा स्कुल भ्यान र मोटरसाईकल एक आपसमा ठोक्किदा २ जना घाईते भएक छन् । शुक्रबार दिउँसो पुनर्वास नगरपालिका–५, सिमरीमा स्कुल भ्यान र मोटरसाईकल ठोक्किदा मोटरसाईकल चालक र पछाडी सवार व्यक्ति घाईते भएका हुन् ।
कैलालीको धनगढीबाट विद्यार्थी लिएर पुनर्वासतर्फ आउँदै गरेको ग्ली एकेडेमीको बा.प्र. ०१–०३४ च ४७६७ नम्बरको स्कुल भ्यानले धनगढीतर्फ जाँदै गरेको सु.प.प्र. ०१–०११ प ३९३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।


दुर्घटनामा मोटरसाइकल चालक पुनर्वास नगरपालिका–४ निवासी अन्दाजी ४० वर्षीय बसन्त भट्टराई गम्भीर घाइते भएका छन् । उनीसँग मोटरसाइकलको पछाडि सवार पुनर्वास नगरपालिका–६ निवासी अन्दाजी २३ वर्षीय प्रदीप कार्की पनि घाइते भएका छन् ।
घटनास्थलबाटै भट्टराईलाई तत्काल उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पताल पठाइएको प्रहरीले जनाएको छ । उनको स्वास्थ्य अवस्थाबारे थप विवरण आउन बाँकी रहेको छ । कार्कीको अवस्था सामान्य रहेको प्रारम्भिक जानकारी प्राप्त भएको प्रहरीले बताएको छ । स्थानीयवासीका अनुसार स्कुल भ्यानले आफ्नो लेन छोडेर विपरीत लेनमा प्रवेश गर्दा दुर्घटना भएको हो । यद्यपि दुर्घटनाको वास्तविक कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।
दुर्घटनापछि प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाएको छ । प्रहरीले स्कुल भ्यान चालक धनगढी उपमहानगरपालिका–११ निवासी २१ वर्षीय मिलन चौधरीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ । घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
















