अत्तरिया चोकको सुन्दरतालाई गिज्याउनले भताभुङ्ग नाला

अत्तरिया – फराकिला सडकको बिचमा हरियाली चोक । त्यसभित्र पानीको फहरा । फहरा भित्र राजा महेन्द्रको सालिक र सिरसिरे हावाले फहराइरहने राष्ट्रिय झन्डा । अत्तरिया चोकमा सिधा नजर लगाउँदा देखिने दृश्यको जो कोहीले यसै गरी वर्णन गर्छन् । सुदूरपश्चिम प्रदेशको प्रदेशद्धारको रूपमा चिनिने अत्तरिया चोक साचीकै सुन्दर छ ।

maya metro hospital

तर, करिब १६ सय वर्ग मिटरमा फैलिएको यो सुन्दर चोकलाई सँगै जोडिएका भताभुङ्ग नाला, नालामा भरिएको फोहोरको डङ्गुर, छेदविच्छेद सडक भने सधैँ गिज्याइरहेको हुन्छ । दुई राजमार्गको संगम स्थल भएर पनि वर्षौँ अघि नै भत्किएका नाला मर्मत नहुँदा अहिले अत्तरिया चोक मात्रै नभएर पुरै बजार नै कुरूप बनेको छ । जताततै फुटेको नालामा फोहोरको डङ्गुर नाक छोपेर हिँड्नुपर्ने बाध्यता छ भने नालामा पानीको निकास नहुँदा वर्षातको पानीले चोक डुब्ने गरेको छ ।

नालाको अवस्था नाजुक हुँदा पनि स्थानीय सरकारले राष्ट्रिय राजमार्गमा पर्ने भन्दै संघ मार्फत मर्मत हुने भन्दै पन्छिँदै आएको छ भने संघले बजेट छुट्टाउने भन्दै हरेक वर्ष ठगिरहेको छ । अत्तरिया चोक वरिपरि करिब डेढ किलोमिटर नाला जताततै भत्किएका कारण अत्तरिया बजारको पानी निकास हुन पाएको छैन । अत्तरियाकाे पहाड रोड, पूर्व रोड र महेन्द्रनगर रोडमा भत्किएका यी नालाका कारण दुर्घटनाको जोखिम समेत बढेको अत्तरियाका स्थानीय दिनेश महराले बताए । वर्षौदेखि नालाको दुरावस्था हुँदा पनि मर्मत नहुनु सरकारको चरम लापरबाही भएको उनको भनाइ छ ।

attariya hospital

उता सडक डिभिजन कार्यालय महेन्द्रनगरले भने अत्तरियामा नाला मर्मतको लागि ३ वर्ष अघि देखि नै पहल थालेको भए पनि बजेट नपाएको जनाएको छ । कार्यालयमा सूचना अधिकारी तारानाथ सिग्देलले नाला निर्माणको लागि २/३ पटक फाइल पठाए पनि बजेट नआएको बताए । उनले अत्तरिया चोकमा रहेका सबै नालाको पानी पश्चिम तर्फ फाल्नुपर्ने देखिएकाले हालको संरचनाले काम नगर्ने बताए । उनले अत्तरियाको पानी निकास गर्नको लागि तेघरी ब्यारेक देखि गोदावरी पुल सम्म नाला बनाउनु पर्ने देखिएको बताए ।  नाला निर्माणका लागि ५ देखि ६ करोड बजेट आवश्यक पर्ने उनकाे भनाइ छ ।

अत्तरिया चोकमा पुरानो नालाको डिजाइन चोकदेखि पूर्व र पश्चिम तर्फ पानी बग्ने गरी निर्माण गरिएको छ । तर, चोकदेखि पूर्वतर्फ उँचो भाग भएकाले पानीको निकास हुने गरेको छैन । जसका कारण चोकमा पानी जम्ने समस्या छ । पानी जम्ने समस्याका कारण हाल अत्तरिया चोकको वरिपरि रहेका सर्भिस लेन सडकको कालोपत्रे उप्किसकेको छ ।

गोदावरी नगरपालिकाका प्रवक्ता गोपाल दत्त भट्टले राजमार्ग सडकको नाला निर्माणका लागि पटक पटक प्रदेश, संघ सरकार सँग बजेट माग गरेको भए पनि सुनुवाइ नभएको बताए । उनले संघ सरकार मातहत पर्ने सडक भएकाले संघमा आफूहरूले पटक पटक मर्मतका लागि पहल गरिरहेको बताए । ‘संघ सरकार मातहत भए पनि हामी स्थानीय सरकारबाट पनि नाला मर्मत गर्ने थियौ तर, हामीसँग बजेटको अभाव छ’ उनले भने ‘अहिले चोकमा पानी जम्ने समस्या छ । पानी जमेर आवतजावत गर्न बर्सातमा समस्या हुने भएकाले हामीले सर्भिस लेनमा ग्राभेल भरान गरेका छौ ।’

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.