काठमाडौँ- नेपाल प्रहरीका बहालवाला प्रहरी निरीक्षक (इन्सपेक्टर) पक्राउ परेका छन् । १३ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनमा कार्यरत इन्सपेक्टर बिदुर शिवाकोटी पक्राउ परेका हुन् ।

काठमाडौँ महानगरपालिकाले विद्यालयहरुमा सचेतनामूलक अभियान चलाइरहेको थियो । सोही क्रममा ती बालिकाले आफूमाथि यौन दुर्व्यवहार र कुटपिट हुने गरेको सूचना दिएकी थिइन् ।

बुधबार साँझ पनि महानगरका प्रतिनिधिलाई आफूमाथि दुर्व्यवहार भएको र बस्नै नसक्ने स्थितिमा पुगेको भन्दै खबर गरेपछि काठमाडौँ महानगरपालिका, नागर्जुन नगरपालिका, बालबालिका खोजतलास तथा समन्वय केन्द्र, बाल अधिकारकर्मी, स्वयम्भु प्रहरी लगायतको टोली शिवाकोटी बसेको घरमा पुगेको थियो ।
उनी हाल प्रहरी वृत्त स्वयम्भूको नियन्त्रणमा रहेका र पीडित किशोरीलाई बाल सुरक्षा गृहमा पठाइएको बताइएको छ । काठमाडौँ महानगरका अनुसार पीडित किशोरी तराईवासी हुन् । उनलाई घरमा सहयोग गर्दै पढाउने गरी राखिएको थियो । काठमाडौँ प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।















