अत्तरियामा सार्वजनिक धारा सुके, यात्रुलाई सकस

अत्तरिया – कैलालीको अत्तरियामा रहेका सार्वजनिक खानेपानीका धारा सुकेका छन् । दशक अघि देखि अत्तरिया बजार क्षेत्रमा सञ्चालनमा रहेका खानेपानीका धारा सुकेका हुन । अत्यधिक गर्मी बढेकै समयमा धारा सुकेपछि पैदल यात्रु र स्थानीय व्यवसायीलाई पानीको जोहो गर्न सकस परेको छ ।

maya metro hospital

दैनिक सयौँको संख्यामा मानिसहरूले प्रयोग गर्ने धारामा एकाएक पानी सुकेपछि निकै समस्या भएको स्थानीय व्यवसायी दुर्गा कडायतले बताइन् । उनले दुई साता यता धारामा पानी आउन छोडेको बताइन् । ‘विगतका वर्षहरूमा पनि सुख्खा मौसममा धारामा पानी कम हुने भए पनि यसरी पुरै सक्दैनथ्यो’ उनले भनिन् ‘यस वर्ष लामो समय सम्म खडेरी परेका कारण पानीको हाहाकार भएको छ ।’ उनले आकाशे पनि पर्न ढिलाइ भएका कारण धारा सुकेको हुन सक्ने बताइन् । अत्तरियाको महेन्द्रनगर चोक नजिकै रहेका २ धारा मध्ये हाल एक पुरै सुकेको छ भने एक धारामा थोरै मात्रै पानी आइरहेको छ । उक्त धारा २०६९ सालमा कञ्चनपुरको भीमदत्त नगरपालिका – १८ का लोक बहादुर बस्नेतले आफ्ना स्वर्गीय छोरा सुनिल बस्नेतको सम्झनामा निर्माण गरेका थिए ।

बस्नेतले तत्कालीन समयमा १ लाख ३० हजार खर्च गरेर धारा निर्माण गरेको भए पनि अहिले जमिनको सतहमा पानी सुकेकाले पानी कम आएको हुनसक्ने बताए । उनले भिडभाड हुने ठाउँमा पानीको धारा भएका कारण धेरै सर्वसाधारणलाई खानेपानी प्रयोग गर्न सहज भए पनि धारा सक्दा समस्या भएको बताए ।

attariya hospital

महेन्द्रनगर रोडमै रहेको अर्को धारा पनि सुक्न थालेको छ । लोटल गल्ली छेवैमै रहेको उक्त धारा स्थानीयले मिलेर निर्माण गरेका भए पनि हाल बढेको अत्यधिक गर्मीका कारण सुकेको स्थानीयको बुझाइ छ ।

अटो चालक धर्मेन्द्र सिलालले बजार क्षेत्रमा पानीको व्यवस्था राम्रो भए पनि हाल गर्मी समयमै धारा सुकेपछि समस्या भएको बताए । ‘अहिले पानी कम आउन थालेपछि एक बोतल पानी भर्न पनि १५ मिनेट पर्खिनु परिरहेको छ’ उनले भने ‘२ महिना देखि पानी कम हुन थालेको भए पनि अहिले निकै घटेको छ ।’ उनले पानीको धारा हुँदा निकै सहज हुने गरेकोमा हाल निकै समस्या भएको बताए । अटो बजारमा पु¥याएर धारामा चिसो पानी खादा राहत हुने गरेको भए पनि हाल पानी पाउनै समस्या हुने गरेको उनको भनाइ छ ।

अहिले अत्तरियाको पहाड रोड र बसपार्कमा रहेका आर्टिजन धाराहरूमा पनि पानी सुकेको छ । चार महिना अघि गोदावरी नगरपालिकाले केदार ग्रुप सँगको समन्वयमा गोदावरीका ५ ठाउँमा खानेपानी मेसिन (वाटर वर्ड) जडान गरेको भने पनि ती अधिकांश बिग्रिसकेका छन् । ती धारामा तातो, चिसो र नर्मल पानी आउने धारा लेखिएको भए पनि सबैमा तातो पानी मात्रै आउने गरेको स्थानीयको भनाइ छ । जसले गर्दा ती धारामा पानी खान कसैले चासो नै दिने गरेका छैनन् । वाटर वर्ड अत्तरिया बसपार्क सँगै इलाका प्रहरी कार्यालय मालाखेती, गोदावरी नगरपालिकाको कार्यालय, वडा नम्बर १ को कार्यालय र मालाखेती अस्पतालमा जडान गरिएका छन् ।

यसको तुलनामा आर्टिजन खानेपानीका धारामा चिसो पानी आउने गरेको भए पनि ती धारामा पानी सुक्दा यात्रुहरूले सास्ती खेप्दै आएका छन् । निकै भिडभाड हुने ठाउँमा रहेका धारा सुकेका भए पनि त्यसको वैकल्पिक व्यवस्थापनमा भने गोदावरी नगरपालिकाले ध्यान दिन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.