कञ्चनपुर – कञ्चनपुरका ३३ हजार ९४२ बालबालिकालाई पोलियोविरुद्धको आइपिभी खोप लगाइने भएको छ । पाँच वर्ष मुनिका बालबालबालिकाई राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत जेठ १३ गतेदेखि २६ सम्म पालिकाका विद्यालय र खोप केन्द्रमा खोप लगाईने भएको हो ।
खोप अभियानका लागि जिल्लामा १५३ स्वास्थ्यकर्मी र ७१० महिला स्वास्थ्य स्वयंसेविका गरी ८६३ जना परिचालन गरिएको स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ । यो खोप २०७१ सालदेखि लगाउन सुरु गरिएको हो ।
जसअन्तरगत शुक्लाफाँटा नगरपालिकाका ३ हजार ५८०, भीमदत्त नगरपालिकाका ८ हजार ५६२, बेल्डाँडी गाउँपालिका १ हजार १७४, बेलौरी नगरपालिकाका २ हजार ७९३, लालझाडी गाँउपालिकाका १ हजार ३८१ बालबालिकालाई खोप लगाइने छ ।
त्यस्तै पुनर्वास नगरपालिकाका ४ हजार ३११, बेदकोट नगरपालिकाका ३ हजार २३२, कृष्णपुर नगरपालिकाका ५ हजार ६६७ र दोधाचाँदनी नगरपालिकाका ३ हजार २४२ बालबालिकालाई खोप लगाइने स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ ।