अत्तरिया – सामुदायिक तथा सार्वजनिक पुस्तकालयहरुको सुदूरपश्चिम प्रदेशस्तरीय सम्मेलनको तयारी पुरा भएको छ । अत्तरियामा रहेको प्रतिभा सामुदायिक पुस्तकालयको आयोजनामा जेठ ११ र १२ गते हुने सम्मेलनको सम्पूर्ण तयारी पुरा भएको जनाइएको छ ।
‘पढौँ पढाऔँ निरन्तर शिक्षाका लागि पुस्तकालय जाऔँ, सबल समाजको आधार पुस्तकालयको विकास र विस्तार, एक स्थानीय तह एक नमुना पुस्तकालय हाम्रो अभियान’ भन्ने मूल नाराका साथ सञ्चालन हुने सम्मेलनको आवश्यक तयारी पुरा भएको पुस्तकालयका अध्यक्ष पुष्पराज जोशीले बताए । उनले सम्मेलन सफल पार्नको लागि विभिन्न समितिहरू गठन गरिएको बताए ।


जसअन्तर्गत सांस्कृतिक संयोजकका लागि लिलाधर बाँस्कोटा, आवास तथा भोजनालय संयोजकका लागि धर्म सिंह कुँवर, अतिथि सत्कार तथा मंन्च व्यवस्थापनका लागि कमला भट्टराई र प्रतिनिधि व्यवस्थापन तथा समन्वय संयोजनका लागि भुपेस जोशीलाई जिम्मेवारी प्रदान गरिएको छ ।
सम्मेलनको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । सम्मेलनमा सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला बाट १–१ जना र कैलाली कञ्चनपुरका सामुदायिक पुस्तकालयबाट २–२ जना व्यक्तिको प्रतिनिधित्व रहने ३० वटा सामुदायिक पुस्तकालयहरूको प्रतिनिधित्व हुने जनाइएको छ ।
सम्मेलन आयोजनाका लागि सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, सामाजिक विकास मन्त्रालय, नेपाल सामुदायिक पुस्तकालय संघ र रिड नेपाल सँग समन्वय÷सहकार्यमा गरिएको कार्यसमिति सदस्य तथा प्रतिनिधि व्यवस्थापन उप–समिति सदस्य हेमन्त राज जोशी (बाजे) बताए ।

















