बैतडी – बैतडीको पुर्चाैडीलाई क्षयरोग मुक्त बनाउन अभियान थालिएको छ । पुर्चाैडी नगरपालिकालाई क्षयरोग मुक्त बनाउन अभियान सञ्चालन गरिएको हो । नगरपालिकाका स्वास्थ्य शाखा प्रमख सुरेन्द्र अवस्थीले क्षयरोगमुक्त नेपाल अभियानलाई सार्थकता प्रदान गर्न पालिकामा पनि अभियान सञ्चालन गरिएको बताए ।

उनले अभियान अन्तर्गत वडास्तरीय योजना तर्जुमा गर्ने काम भएको र अहिले वडाहरुमा खकार संकलन र परीक्षण शिविर सञ्चालन भईरहेका बताए । उनका अनुसार हालसम्म ६ ओटा वडाहरुमा खकार संकलन र परीक्षण शिविर सम्पन्न गरिसकिएको छ । बाँकी रहेका वडाहरुमा केही दिनभित्रै शिविर सञ्चालन हुने बताईएको छ ।

अभियान अन्तर्गत नै प्रत्येक वडाहरुमा स्वयंसेवक छनौट गरेर परिचालन गरिएका अवस्थीले बताए । स्वयं सेवकहरुलाई पनि तालिम दिएर क्षयरोगका बिरामीहरुको खोज पडताल भइरहेको उनको भनाई छ । अहिलेसम्म सञ्चालन भएका शिविरबाट एकजनामा क्षयरोग पत्ता लागेको स्वास्थ्य शाखा प्रमुख अवस्थीले बताए । जिल्लामा १ सय ७ जना क्षयरोगका बिरामीहरु उपचारमा रहेकामा पुर्चौंडीका १८ जना रहेका छन ।
नेपाल सरकारले सन् २०३५ सम्ममा क्षयरोग नियन्त्रण र सन् २०५० सम्म क्षयरोग उन्मूलन गर्ने लक्ष्य लिएको छ । लगातार दुई हप्ता भन्दा बढी समयसम्म खोकी लाग्ने, खानामा अरुचि हुने, दुब्लाउँदै जाने र कमजोर हुनु क्षयरोगका लक्षण हुन् । यस्ता लक्षण देखिएमा नजिकको स्वास्थ्य संस्थामा चेकजाँच गराउन स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन् ।

















