खाेज्नुहाेस

चुरेमा ‘अध्यक्ष ज्येष्ठ नागरिक स्वास्थ्य उपचार तथा शिविर कार्यक्रम’ सुरु

Image

अत्तरिया – कैलालीको चुरे गाउँपालिकामा ‘अध्यक्ष ज्येष्ठ नागरिक स्वास्थ्य उपचार तथा शिविर कार्यक्रम’ सुरु भएको छ । पालिकाले ज्येष्ठ नागरिकहरुका लागि उक्त कार्यक्रम ल्याएको हो ।

उक्त कार्यक्रम अन्र्तगत शुक्रबार पालिकाको वडा नं. १ मा रहेको निगाली स्वास्थ्य चौकीमा विशेषज्ञ स्वास्थ्य शिविरको आयोजना गरिएको छ । शिविरमा करिब २ सय भन्दा बढीले सेवा लिएको पालिकाले जनाएको छ । पालिकाका अध्यक्ष चक्र बहादुर बोगटीले ६० वर्ष माथिका ज्येष्ठ नागरिकहरुलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्यका साथ कार्यक्रम ल्याईएको बताए ।

attariya hospital

उनले उक्त कार्यक्रम अन्र्तगत आयोजना गरिने शिविरहरुमा सहभागी विरामीहरुको चेकजाँच गर्ने तथा औषधी दिने कार्य निःशुल्क हुने बताए । ‘ज्येष्ठ नागरिक टाढा गएर उपचार गर्न सक्दैनन्, सबैसँग खर्च पनि हुदैन’ उनले भने ‘त्यहि भएर हामीले यो कार्यक्रम ल्याएका हौ, यसमा आएका विरामीहरुको चेकजाँच, औषधी लगायतका कुराहरु सबै निःशुल्क हुनेछन ।’

उनले शिविरबाट हुन सक्ने सेवा सुविधाहरु निःशूल्क रुपमा गरिने र जटिल किसिमका समस्याहरुका लागि स्वास्थ्यकर्मीहरुले रिफर गरेको अस्पतालसँग समन्वय गरिने बताए । यहाँबाट हुन सक्ने सेवा सुविधाहरु निःशुल्क रुपमा हुने र जटिल किसिमको समस्याको लागि स्वास्थ्यकर्मीहरुले अस्पतालहरुमा रिफर गर्ने बताए ।

navjiwan hospital

शिविरमा विशेषज्ञ स्वास्थ्यकर्मीहरुबाट उच्च रक्तचाप, मधुमेह, पेट, छाती, मुटु, कलेजो, दम, बाथ लगायतका सामान्य रोगहरुको उपचारका साथै आवश्यक परामर्श र प्रेषण सेवा दिईने बताईएको छ । त्यस्तै आँखाका सम्बन्धीका रोगहरुको पहिचान गरी उपचार गर्ने तथा आवश्यक परेको खण्डमा निःशूल्क रुपमा चस्मा पनि दिईने गाउँपालिकाले जनाएको छ । त्यतिमात्रै नभई दातँ तथा गिजाको समस्या पहिचान र उपचार, नाक, कान, घाँटी सम्बन्धी रोगहरुको उपचार पनि शिविरमा हुनेछ ।

त्यसबाहेक औषधी वितरण र ल्याबको सेवालाई पनि निःशुल्क गरिएको गाउँपालिका अध्यक्ष बोगटीले बताए । अध्यक्ष बोगटीले पछिल्लो समय तरकारीहरुमा विषादीको मात्रा बढेकाले नै विभिन्न किसिमका रोगहरु लागिरहेको बताए । उनले बढी उत्पादन गर्ने सोचका साथ गरिने विषादीको प्रयोगले स्वास्थ्यमा नराम्रो असर पर्ने भएकाले तरकारीजन्य उत्पादनमा विषादी प्रयोग गर्न नहुने बताए । उनले आफ्नै बारीमा उत्पादन गरिने अर्गानिक वस्तुहरु खाए स्वस्थ रहन सकिने बताए ।

पालिकाले ‘अध्यक्ष ज्येष्ठ नागरिक स्वास्थ्य उपचार तथा शिविर कार्यक्रम’ का लागि चालु आर्थिक वर्षमा ७ लाख रुपैया विनियोजन गरेको थियो । उक्त रकमबाट विरामीहरुको औषधी उपचार तथा डाक्टरहरुलाई पारिश्रमिक दिने काम गरिने अध्यक्ष बोगटीले बताए ।

अध्यक्ष बोगटीका अनुसार पालिकाका ६ वटा स्थानमा स्वास्थ्य शिविरहरु सञ्चालन हुनेछन । जसमध्ये शुक्रबार वडा नं. १ मा रहेको निगाली स्वास्थ्य चौकीमा शिविर आयोजना भैसकेको छ भने शनिबार वडा नं. ६ मा रहेको शान्तीनगर सामुदायिक स्वास्थ्य इकाईमा शिविर आयोजना गरिनेछ ।

त्यसपश्चात जेठ ४ गते वडा नं. ५ मा रहेको खानीडाँडा सामुदायिक स्वास्थ्य इकाईमा, ५ गते वडा नं. ३ मा रहेको सहजपुर स्वास्थ्य चौकीमा, ११ गते वडा नं. २ मा रहेको खैराला स्वास्थ्य चौकी र १२ गते वडा नं. ४ मा रहेको गर्भा सामुदायिक स्वास्थ्य इकाईमा शिविर आयोजना हुने पालिकाले जनाएको छ ।