खाेज्नुहाेस

कञ्चनपुरको बेलौरीका नगरप्रमुख किन पुगे प्रदेश प्रहरी कार्यालय ?

Image

अत्तरिया – कञ्चनपुरको बेलौरी नगरपालिकाका नगरप्रमुख पोतिलाल चौधरी आइतवार सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी पुगे । नगरप्रमुख चौधरीले प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) रवीन्द्र केसीसँग भेट गरे ।

उनी किनमेल गर्नका लागि भारतीय बजार बसही, सम्पूर्णानगर, खजुरिया जाने गरेका नेपालीहरुलाई लागुऔषध तथा विभिन्न बहानामा फसाउने गरिएको कुराहरु आइरहेको भन्दै सोको समाधान खोज्न प्रदेश प्रहरी प्रमुख केसीसँग भेट गर्न पुगेका बताइएको छ ।

attariya hospital

भारतीय प्रहरी हुँ भन्दै किनमेल गर्न बसही, खजुरिया जाने नेपालीलाई पटक–पटक तपाइसँग लागुऔषध छ भन्ने लगायतका विभिन्न बहाना बनाएर दुःख दिने र फसाएर भारतीय थानामा लगेर रकम माग गर्ने, रकम अशुल्ने, ‘ड्रग्स केशमे चलान कर्दुङ्गा’ भनेर नेपालीहरुलाई दुःख दिने गरेको भन्ने गुनासो आउन थालेपछि प्रदेश प्रहरी प्रमुखकहाँ नै यसको समाधानका लागि पुग्नुपरेको बताइएको छ ।

navjiwan hospital

नगरप्रमुख चौधरीले किनमेल गरेर फर्किने क्रममा चेकजाँज गर्दा लागुऔषध छ भन्दै थानामा लैजाने, पैसा असुल गरेर छोड्ने गरेको गुनासो आइरहेको बताए । ‘अब यो क्षेत्रका सबैजसो किनमेल गर्न बसही, सम्पूर्णानगर, खजुरिया नै जाने गरेका छन्, नजानूस् भनेर पनि सकिन्न, फर्किने बेला चेकजाँच गर्दा लागुऔषध छ भन्ने, थानामा लैजाने, अनि घरका मान्छे बोलाएर पैसा माग्ने, कानुनअनुसार कारबाहीमा भने नजाने गरेको पाइएको छ, पीडितहरुले बताएअनुसार’, उनले भने ।

नगरप्रमुख चौधरीले केही दिनअघि मात्रै पनि दुई जना यो समस्या लिएर आइसकेका बताए । एक जना शिक्षकलाई किनमेल गरेर फर्किँदा अनावश्यक चेकजाँच गरिएको र शिक्षक हुँ भनेर आइडी देखाएपछि मात्रै छोडेको पाइएको उनले बताए । शरीरमा लगाएको लुगा नै फुकाल्न लगाएर चेक गर्न लगाउने गरेको भन्ने समेत गुनासो आइसकेपछि आफू प्रदेश प्रहरीकहाँ पुगेको उनले बताए ।

वैशाख १ गते पनि बेलौरीकै हरिबहादुर खत्रीलाई चेक गर्ने क्रममा भारतीय प्रहरीले उनको साथमा रहेको मोटरसाइकलमा लागुऔषध बरामद गरिएको भन्दै पक्राउ गरेको थियो । पक्राउ परेपछि भारतीय प्रहरी चौकी खजुरियाले उनलाई हिरासतमा राखेर बार्गेनिङ गरेको थियो । सुरुमा २ लाख दिए मुद्दा अगाडि नबढाउने बताए पनि पछि बार्गेनिङ गरेर १ लाख भारतीय रुपैयाँ दिएर छोडिएको थियो ।

पछिल्लो समय सीमानाकामा यस्ता घटना बढ्न थालेपछि पालिकाका प्रमुखले यसको सामाधानका लागि प्रहरी गुहारेका हुन् । उनले सीमानाकामा भइरहेका घटनाका विषयमा जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा पनि जानकारी गराइसकिएको बताए । ‘जिल्ला प्रहरी र जिल्ला प्रशासनमा पनि यस विषयमा जानकारी गराएको हुँ, यसमा उहाँहरुले के गर्नुभयो या के गर्दै हुनुहुन्छ थाहा भएन’, उनले भने, ‘प्रदेश प्रहरी प्रमुखकहाँ पनि पुग्नैपर्छ भन्ने लागेर त्यहाँ पनि पुग्यौँ ।’ उनले यथाशीघ्र समस्या समाधानका लागि प्रदेश प्रहरी प्रमुख केसीको ध्यानाकर्षण गराइएको बताए ।

प्रदेश प्रहरी प्रमुख केसीले तत्कालै भारतीय प्रहरीसँग यस विषयमा समन्वय गरेर समस्या समाधान गर्ने प्रतिवद्वता जाहेर गरेका उनले बताए । नगरपालिकाको वडा नम्बर २ का दुई जना वडा सदस्य विक्रम चौधरी र नारद रानासहित नगरप्रमुख चौधरी प्रदेश प्रमुखकहाँ पुगेका थिए ।