काठमाडौं – अस्ट्रेलियाको स्मेक र चिनियाँ थ्री गर्जेज कम्पनी पछि पश्चिमसेती जलविद्युत् आयोजनामा इन्ट्रि गरेको भारतीय कम्पनी एनएचपिसीले पनि छाड्ने तयारी गरेको छ । चार दशकदेखिको बहुप्रतीक्षित पश्चिमसेती जलविद्युत् आयोजना निर्माणको जिम्मा लिएको उक्त कम्पनीले आयोजना बनाउन नसकिने भन्दै छाड्ने तयारी गरेको हो ।

२०७९ असारमा तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले ७५० मेगावटाको जलासययुक्त पश्चिमसेती आयोजना भारत सरकारको स्वामित्वमा रहेको एनएचपीसीलाई दिने निर्णय गरेको थियो । आउँदो असारसम्म लगानी जुटाउने प्रतिबद्धता जनाएको एनएचपिसी स्थानीय प्रतिनिधिलाई आयोजना बनाउन नसकिने भन्दै सूचना दिएको छ । यसको औपचारिक घोषणा हुन भने बाँकी रहेको छ ।

पश्चिमसेती आयोजना लिएपछि एनएचपिसीले एसआर–६ आयोजना पनि पाएको छ ।

४५० मेगावाटको जलाशययुक्त उक्त आयोजना पश्चिमसेतीमा बुढीगंगा मिसिने स्थानभन्दा थोरै तल बनाउने प्रस्ताव गरिएको छ । निर्माण र विद्युत उत्पादन गर्दा पश्चिमसेती सँग एसआर–६ आयोजना प्रत्यक्ष रूपमा जोडिने भएकाले सरकारले दुवै आयोजना एउटै कम्पनीलाई दिएको हो । तथापि एनएचपिसी बाहिरिने भएपछि दुवै आयोजनाको भविष्य थप अन्योलमा पर्ने भएको हो ।
लगानी बोर्डेले भने त्यसबारे कुनै जानकारी नआएको जनाएका छ । प्रवक्ता प्रद्युन्नप्रसाद उपाध्यायले भने, ‘बोर्डलाई अहिलेसम्म त्यसबारेमा कुनै जानकारी छैन । आयोजना अध्ययनका क्रममा छ ।’