सुदूरपश्चिममा प्रदान गरिने ‘भीमदत्त उत्कृष्ट कृषक पुरस्कार’ के हो ? कतिले पाए ?

अत्तरिया – किसान आन्दोलनका सहिद किसान नेता भीमदत्त पन्तको नामबाट निर्मित ‘भीमदत्त उत्कृष्ट कृषक पुरस्कार’ बाट सुदूरपश्चिम प्रदेश सरकारले कृषकहरुलाई पुरस्कृत गर्दै आएको छ । कृषि क्षेत्रमा सकृय रुपमा लागेकाहरुलाई प्रदेशको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मातहतको प्रादेशिक कृषि विकास निर्देशनालयले पुरस्कृत गर्दै आएको हो । कृषि निर्देशक यज्ञराज जोशीले पछिल्ला दुई आर्थिक वर्षमा प्रदेशका कृषकहरुलाई पुरस्कृत गरिएको बताए । उनका अनुसार आर्थिक वर्ष २०७८/०७९ बाट यो पुरस्कार प्रदान गर्न थालिएको हो ।

Karma Consultancy

सुरुको वर्ष २०७८/०७९ मा प्रदेशस्तरमा पाँच जना र जिल्लास्तरमा प्रत्येक जिल्लाबाट तीन÷तीन जना गरी २७ जना कृषकलाई पुरस्कृत गरिएको निर्देशनालयको तथ्याङ्क छ । कृषि निर्देशक जोशी भन्छन्, ‘जिल्लास्तरमा तीन जना कृषक छनोट गर्ने र प्रदेशस्तरमा ती तीन जना छनोट भएका नौ जिल्लाका २७ जना मध्येमा पाँच जनालाई पुरस्कृत गर्ने भनेर एउटा कार्यविधि तयार भएर सोहीअनुसार गएको दुईटा आर्थिक वर्षमा भीमदत्त उत्कृष्ट कृषक पुरस्कारहरु प्रदान गरिएको छ ।’ उनका अनुसार प्रथम, द्वितीय, तृतीय गरी पुरस्कृत गरिन्छ ।

citizen security services

प्रदेशस्तरमा को–को भए पुरस्कृत ?

attariya hospital

आर्थिक वर्ष २०७८/०७९ मा प्रदेशस्तरमा कञ्चनपुर, डोटी र डडेल्धुराका कृषक पुरस्कृत भएका छन् । जसमा क्रमशः केराखेती गरेका कञ्चनपुरको भीमदत्त नगरपालिका–१० का पूर्णसिंह साउद, तरकारीखेती गरेका डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ का दत्तराज अवस्थी, गाईपालन गरेका कञ्चनपुरकै शुक्लाफाँटा नगरपालिका–१० का रमेशबहादुर धानुक, तरकारीखेती गरेका डोटीको जोरायल गाउँपालिका–१ का खडकबहादुर मल्ल र बाख्रापाचलन गरेका डडेल्धुराको आलिताल गाउँपालिका–७ की शोभाकुमारी बोहरा रहेकी छन् ।

त्यसैगरी २०७९/०८० मा कैलाली, कञ्चनपुर र बैतडीका कृषक पुरस्कृत भएका छन् । जसमा क्रमशः उखु, आलु र तोरीखेती गरेका कञ्चनपुरको बेलौरी नगरपालिका–६ का असारेराम बडायक, तरकारीखेती गरेका डडेल्धुराको अमरगढी नगरपालिका–१ का प्रिन्सराज अवस्थी, कुखुरापालन गरेका कैलालीको घोडाघोडी नगरपालिका–८ का पहलमान देउवा, तरकारीखेती गरेका डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ का प्रसाददत्त अवस्थी र तरकारीखेती नै गरेका बैतडीको पाटन नगरपालिका–९ की जयनती भाट (बिजले) रहेका छन ।

जिल्लास्तरमा पुरस्कृत को–को भए ?

जिल्लास्तर पुरस्कारमा पहिलो वर्ष कैलालीको गोदावरी नगरपालिका–३ का च्याउखेती गरेका डिल्लीराज जोशी, टीकापुर नगरपालिका–१ का पशुपालन गरेका चक्रबहादुर बटाला र गौरीगंगा नगरपालिका–३ का केराखेती गरेका लक्ष्मीराज आचार्यसहित २७ जना पुरस्कृत भएका छन् । दोस्रो वर्ष कैलालीको धनगढी उपमहानगरपालिका–५ का बेमौसमी तरकारीखेती तथा गड्यौला मल उत्पादन गरेका रामकिसन चौधरी, घोडाघोडी नगरपालिका–८ का कुखुरापालन गरेका पहलमान देउवा र लम्कीचुहा नगरपालिका–८ का माछापालन गरेका खडकबहादुर महतोसहित २५ जना पुरस्कृत भएका छन् । पुरस्कारका लागि आह्वान गरिएको सूचनापछि दार्चुलाबाट एक जना कृषकले मात्रै निवेदन दिँदा सो जिल्लाबाट दुई जना कृषक कम भएका कृषि विकास निर्देशनालयका सूचना अधिकारी केशव अवस्थीले बताए ।

belauri nagarpalika

कसरी छनोट गरिन्छन् कृषक ?

कृषि निर्देशक जोशीले कृषिको विभिन्न विधाहरुका आधारमा पुरस्कारका लागि कृषकहरु छानिने गरिएको बताए । ‘कृषिको विभिन्न विधाहरु छ, २२/२३ ओटा विधाहरुमा काम गरेका कृषकहरुले एक महिने अवधिको जुन सूचना खुल्छ, त्यो अवधिमा दिइएको फर्मेटअनुसार भरी सम्बन्धित कार्यालयहरु, ज्ञान केन्द्रहरु, मन्त्रालय, निर्देशनालय, जहाँ जसलाई पायक पर्छ त्यहाँ बुझाउने गर्छन्’, उनले भने, ‘उनीहरुले बुझाइसकेको फर्मेटलाई जिल्लास्थित ज्ञान केन्द्रमा एउटा समिति हुन्छ, जिल्ला समन्वय समितिको पनि त्यसमा पदाधिकारी हुन्छ, जिल्लामा अवस्थित कृषि विज्ञ केन्द्र भन्ने हुन्छ, त्यो यसको सदस्य हुन्छ, यसैगरी ज्ञान केन्द्र स्वयम् हुन्छ यो समितिले आएका निवेदनहरुलाई मागेको मापदण्ड अनुसार कार्यविधिमा उल्लेख भएबमोजिम छनोट गर्छ ।’

उनका अनुसार छनोट प्रक्रिया यहीँ रोकिन्न । छनोट गरिसकेपछि मोटामोटी यति किसानहरु आए भन्ने एउटा नतिजा निकालिन्छ । नतिजा निकालिसकेपछि किसानको घरदैलोमा गएर चेकजाँच गरिन्छ ।

उनी भन्छन्, ‘चेकजाँचपछि समितिले यो जिल्लामा यो किसान यो विधामा राम्रो छ भनेर निर्णय गर्छ, त्यो निर्णयको जानकारी कृषि विकास निर्देशनालयलाई दिन्छ, कृषि विकास निर्देशनालय सदस्य सचिव हो त्यसको र मन्त्रालयमा सचिवस्तरीय संयोजक समिति छ त्याँ, त्यो समितिले चाइँ यलाई फेरि अनुगमन गर्नुपर्ने आवश्यकता भए अनुगमन गर्छ, त्यसपछि कृषि विकास निर्देशनालय, कृषि तालिम केन्द्र सुन्दरपुर र कृषि तथा पशुपन्छी विकास निर्देशनालय तीनटैका प्रमुख वा प्रमुखले खटाएको प्रतिनिधिको संयोजनमा एउटा समितिले ती २७ जना मध्येमा को राम्रो छ भनेर किसानलाई थाहै नदिई आवश्यकता अनुसार फेरि फिल्डमा गई विभिन्न क्रस चेकिङ गरेर त्यसमध्येमा फस्र्ट, सेकेन्ड गरी पाँच जना छनोट गर्छ ।’

जिल्लास्तरीय किसानहरुलाई जिल्लास्तरीय पुरस्कार २५/२५ हजारका दरले जिल्लाले नै वितरण गर्ने वा मन्त्रालय अथवा निर्देशनालयका पदाधिकारी गएर जिल्लामा वितरण गरिने र प्रदेशस्तरमा प्रदेशस्तरीय कार्यक्रम राखेर पाँच ओटा पुरस्कारहरु प्रदान गरिने गरेको उनले बताए । यो वर्ष भने ‘भीमदत्त उत्कृष्ट कृषक पुरस्कार’ कार्यक्रम छ वा छैन भन्ने नै थाहा नभएको निर्देशक जोशी बताउँछन् । मन्त्रालयले लेखी पठाए मात्रै निर्देशनालयले सो कार्यक्रम गर्ने भएकाले यसपाली भने सो विषयमा कुनै जानकारी नआएको उनी बताउँछन् । ‘अघिल्लो पल्ट मन्त्रालयले यो कार्यक्रम गर भनी लेखी पठाएको थियो, अनि हामीले कार्यक्रम गरेका थियौँ, यो वर्ष कुनै जानकारी आएको छैन हामीलाई’, उनले भने । गएका दुई वर्ष उक्त कार्यक्रम निर्देशनालयले नै सञ्चालन गरेको थियो ।

यस्तो छ कार्यविधि

Publish

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.