अत्तरिया– सुदूरपश्चिमका किसान यतिबेला धमाधम गहुँ काटिरहेका छन् । यो समय किसानहरुलाई गहुँ काटेर भित्र्याउने चटारो छ । मौसमले साथ दिन्न कि भन्ने पिरले किसानहरुलाई पाकिसकेको गहुँ भित्र्याउन भ्याइनभ्याइ छ । गहुँ पाकिसकेको यो समयमा पानी परे भित्र्याउन पाइँदैन कि भन्ने पिरले पनि किसानहरु दिनभर नै गहुँ काटिरहेका देखिन्छन् ।
कैलालीका किसानले ३४ हजार ५६५ हेक्टर क्षेत्रफलमा गहुँ लगाउँछन् । तर, पछिल्लो समय सुदूरपश्चिममा गहुँखेती गरिने क्षेत्रफल घट्दै गइरहेको पाइएको छ । प्रदेशभरकै तीन वर्षयताको तथ्याङ्क हेर्ने हो भने गहुँखेती गरिने क्षेत्रफल क्रमशः घट्दै गइरहेको पाइएको हो । सुदूरपश्चिममा आर्थिक वर्ष २०७८/०७९ मा १ लाख ४९ हजार ९५२ हेक्टर क्षेत्रफलमा गहुँखेती गरिएको छ । यो क्षेत्रफल घट्दै आर्थिक वर्ष २०७९/०८० मा १ लाख ४४ हजार ५८२ हेक्टर क्षेत्रफल पुगेको छ भने चालु आर्थिक वर्ष २०८०/०८१ मा १ लाख ३५ हजार १५५ हेक्टर क्षेत्रफलमा झरेको छ । क्षेत्रफल घट्दै जाँदा उत्पादकत्व पनि घट्दै गएको छ । आर्थिक वर्ष २०७८/०७९ मा ३ लाख ५४ हजार ४८० मेट्रिक टन गहुँ उत्पादन भएकामा २०७९/०८० मा ३ लाख ३१ हजार ३०३ मेट्रिक टन गहुँ उत्पादन भएको छ । यो वर्षको कुल उत्पादन भने आउ बाँकी नै छ । किसानहरुले भर्खर गहुँ काट्न सुरु गरेका छन् ।
कृषि विकास निर्देशनालयको तथ्याङ्क अनुसार कैलालीमा आर्थिक वर्ष २०७८/०७९ मा ३४ हजार ५६५ हेक्टर क्षेत्रफलमा गहुँ लगाइएकोमा एक लाख तीन हजार चार सय ७१ मेट्रिक टन गहुँ उत्पादन भएको छ । त्यसैगरी कञ्चनपुरमा ३१ हजार २१० हेक्टर क्षेत्रफलमा गहुँ लगाउँदा एक लाख दुई हजार नौ सय ९३ मेट्रिक टन, डडेल्धुरामा आठ हजार सात सय ४४ हेक्टरमा गहुँ लगाउँदा १३ हजार दुई सय मेट्रिक टन, बैतडीमा १५ हजार चार सय हेक्टरमा लगाउँदा १८ हजार चार सय ८० मेट्रिक टन, डोटीमा १४ हजार दुई सय ९८ हेक्टरमा लगाउँदा २४ हजार तीन सय १२ मेट्रिक टन, अछाममा १४ हजार आठ सय १० हेक्टरमा लगाउँदा २६ हजार छ सय ५८ मेट्रिक टन, दार्चुलामा पाँच हजार नौ सय ६५ हेक्टरमा लगाउँदा ११ हजार तीन सय ३४ मेट्रिक टन, बझाङमा १४ हजार पाँच सय हेक्टरमा गहुँ लगाउँदा ३६ हजार दुई सय ५० मेट्रिक टन र बाजुरामा १० हजार चार सय ६० हेक्टर क्षेत्रफलमा गहुँ लगाउँदा १७ हजार सात सय ८२ मेट्रिक टन गहुँ उत्पादन भएको छ ।
त्यस्तै, गत आर्थिक वर्ष २०७९/०८० मा कैलालीमा ३४ हजार ५६५ हेक्टर क्षेत्रफलमा नै गहुँ लगाइएकोमा एक लाख तीन हजार चार सय ७१ मेट्रिक टन नै गहुँ उत्पादन भएको कृषि विकास निर्देशनालयको तथ्याङ्क छ । कञ्चनपुरमा अघिल्लो वर्षकै ३१ हजार २१० हेक्टर क्षेत्रफलमा गहुँ लगाइएकोमा उत्पादन घटेर एक लाख आठ सय आठ मेट्रिक टन पुगेको छ । डडेल्धुरामा सात हजार छ सय हेक्टर क्षेत्रफलमा गहुँ लगाइएकोमा १५ हजार मेट्रिक टन उत्पादन भएको छ । जुन अघिल्लो वर्षको तुलनामा क्षेत्रफल घट्दा पनि उत्पादन बढी हो । बैतडीमा पनि अघिल्लो वर्षकै १५ हजार चार सय हेक्टरमा गहुँ लगाइएकोमा उत्पादन भने घटेर १६ हजार एक सय मेट्रिक टन मात्र भएको छ ।
डोटी, अछाम र बझाङमा क्षेत्रफल र उत्पादन दुबै घटेको छ । डोटीमा १४ हजार दुई सय ९० हेक्टरमा गहुँ लगाइएकामा २३ हजार आठ सय ९८ मेट्रिक टन, अछाममा १४ हजार सात सय ३० हेक्टरमा लगाइएकामा २३ हजार पाँच सय ६८ मेट्रिक टन र बझाङमा १० हजार तीन सय ७२ हेक्टरमा गहुँ लगाइएकामा १८ हजार छ सय ८० मेट्रिक टन गहुँ उत्पादन भएको छ । दार्चुलामा अघिल्लो वर्षझैँ पाँच हजार नौ सय ६५ हेक्टरमा गहुँ लगाइएकामा उत्पादन भने बढेर १४ हजार नौ सय तीन मेट्रिक टन भएको छ । बाजुरामा १० हजार चार सय ५० हेक्टर क्षेत्रफलमा १५ हजार छ सय ७५ मेट्रिक टन गहुँ उत्पादन भएको छ ।
समग्रमा हेर्दा तीन वर्षमा प्रदेशमा गहुँखेतीको क्षेत्रफल र उत्पादन दुबै घटेको छ । कृषि विकास निर्देशनालयका प्रमुख यज्ञराज जोशीले गहुँ खेतीको क्षेत्रफल घट्दै जानुमा सहरीकरण, नगदे बाली लगाइनु जस्ता कारण रहेका बताए । ‘एउटा त यो सहरीकरण, ठुलाठुला सडकहरु बन्ने क्रम जारी छ, र गहुँभन्दा पनि केही नगदे बालीहरु तरकारीखेती, केराखेती, माछापालन, फलफूलखेती, जडीबुटीखेतीहरु गर्ने गरिन्छ । यसले पनि गहुँ लगाउने क्षेत्रफल खुम्चिँदै गएको छ’, उनले भने ।
उनले कतै भने क्षेत्रफल घट्दा पनि उत्पादन बढिरहेको देखिएकाले खेती गर्ने प्रणाली ठिक नहुँदा पनि किसानहरुले राम्रो उत्पादन लिन नसकिरहेको बताए । ‘उत्पादनको दृष्टिकोणले पोहोरसाल त भनेजस्तो गहुँका लागि आवश्यक पर्ने वातावरण पनि हुन सकेन, मलाई के लाछ भनेदेखि खेती गर्ने किसानहरु श्रमहरु पनि पातलो हुने क्रम छ, जोतबिखन गर्ने खासगरी प्राङ्गारिक मल हाल्ने चलन हुन्थ्यो पहिले, गाईगोरु पाल्ने चलन हुन्थ्यो, अहिले गोबर मलहरुको धेरै न्यून मात्रामा माटोमा प्रयोग भइराछ, केवल रासायनिक मलको भरमा छ, अनि प्रचण्ड गर्मी बढ्छ, भनेजति मात्रामा पानी पनि दिन सक्दैनन् किसानहरुले, यी विविध कारणहरुले गर्दा उत्पादन घट्न गइरहेको हुन्छ’, उनले भने ।
खेत खनजोतदेदिख लिएर प्राङ्गारिक मलको प्रयोग, गहुँबालीमा आवश्यक मात्रामा सिँचाइ लगायतका कुरामा ध्यान दिने हो भने राम्रो उत्पादन लिन सकिने उनी बताउँछन् ।
गहुँ काटिरहेका किसानहरु :