खाेज्नुहाेस

कृष्णपुरमा दादुरा रुबेला खोप सम्बन्धी अभिमुखीकरण, खोप नछुटाउन आग्रह

Image

अत्तरिया- कञ्चनपुरको कृष्णपुर नगरपालिकामा खोप समन्वय समिति तथा सञ्चारकर्मीलाई अभिमुखीकरण गराइएको छ । नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा दादुरा रुबेला खोप सम्बन्धी स्थानीय तहस्तरीय खोप समन्वय समिति तथा सञ्चारकर्मीलाई अभिमुखीकरण गराइएको हो ।

राष्ट्रिय खोप कार्यक्रम २०८०/०८१ अन्तर्गत यही फागुन १३ गतेबाट सुरु हुन गइरहेको दादुरा रुबेला खोप सम्बन्धी शनिवार अभिमुखीकरण गराइएको हो । नेपाल सरकारले २०२६ सम्ममा दादुरा निवारणको लक्ष्य लिएकोमा सो लक्ष्य प्राप्तिका लागि राष्ट्रिय खोप कार्यक्रम आयोजना गरिएको र यो खोप सुरक्षित रहेकाले सबै बालबालिकालाई लगाइनुपर्ने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रतन विष्टले बताए ।

attariya hospital

उनले खोप नछुटाउन आग्रह गर्दै खोप लगाउनबाट वञ्चित बालबालिकाहरुलाई नियमित खोपमा पनि छुटेको खोप प्रदान गरिने, दादुरा रुबेला खोप नलगाएका बालबालिकाहरुलाई र यो भन्दा अगाडि लगाएका बालबालिकाहरुलाई पनि अझै खोप लगाइने बताए । कोही पनि बालबालिका खोपबाट वञ्चित नहोउन् भनी यसबारे चेतना फैलाउने कार्य भइरहेको उनले बताए ।

navjiwan hospital

उनले सबैलाई पायक पर्ने गरी खोप केन्द्र राखिएको बताएका छन् । ‘नगरपालिका अन्तर्गत सबै विद्यालयहरुमा खोप केन्द्र राखी सञ्चालन गर्दैछौँ, ९ महिनादेखि १५ वर्ष उमेर समूहका बच्चाहरुलाई खोप दिने उद्देश्य रहेको छ’, उनले भने, ‘पहुँच टाढा रहेका स्थानहरुलाई पनि मध्यनजर गरेर हाम्ले खोप केन्द्र स्थापना गरेका छौँ ।’

खोप कार्यक्रम १३ गतेबाट निरन्तर ९ दिनसम्म सञ्चालन हुने स्वास्थ्य शाखा प्रमुख विष्टले बताए । तराइका २४ जिल्लाहरुमा ९ महिनादेखि १५ वर्ष उमेर समूहका बच्चाहरुलाई यो खोप लगाइने गरेको र पहाडी जिल्लाहरुमा ९ महिनादेखि ५ वर्ष उमेर समूहका बच्चाहरुलाई लगाउने गरेको उनले बताए ।

नगरपालिकाका नगरप्रमुख हेमराज ओझाले विगतमा केही समुदायमा खोप लगाउनुहुँदैन भन्ने मान्यता रहेकोमा अहिले पनि केही समुदाय तथा परिवारहरुमा खोप लगाए देवता रिसाउँछन् भन्दै खोप नलगाउने प्रवृति रहेको बताए । त्यसका लागि आफूहरुले जनचेतना जगाउने काम पनि गरिरहेको उनले बताए ।

उनले शतप्रतिशत खोप लगाइनुपर्ने कुरामा नगरपालिका लागिपरेको बताए । पालिकामा अहिले कुनै बालबालिकामा दादुरा रुबेलाको समस्या नदेखिएको पनि उनको भनाइ छ । ‘गत वर्ष वडा नम्बर ६ मा देखिएको अवस्था थियो, अहिले एकदमै न्यून छ, देखिएको छैन’, उनले भने । खोप कार्यक्रमलाई सफल पार्न र दादुरा रुबेला निवारणमा सहयोग पुर्‍याउन सम्बन्धित सम्पूर्णमा आग्रह समेत गरिएको छ ।