गोदावरीमा पुनः किसान परिचय पत्र वितरणको काम रोकियो

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकामा किसान परिचय पत्र वितरणको कार्य पुनः रोकिएको छ । करिब डेढ वर्ष अगाडि सुरु गरिएको उक्त परिचय पत्र वितरणको कार्य दोस्रो पटक रोकिएको हो । पहिलो पटक नगरले सुदूरपश्चिममै पहिलो पटक गत वर्ष भाद्र २५ गतेदेखि किसान परिचय पत्र वितरण गर्ने कार्य सुरु गरेको थियो । जसमा नगरप्रमुख विरेन्द्र भट्टले वडा नं. ३ का २६ जना किसानलाई परिचय पत्र प्रदान गरेका थिए । त्यसपश्चात् रोकिएको परिचय पत्र वितरणको कार्य पुनः सोही वर्ष चैतदेखि सुरु गरिएको थियो । चैत १२ गते वडा नं. १ मा किसान परिचय पत्र वितरणको कार्य सुरु गरिएपनि त्यसपश्चात् पनि पुनः उक्त कार्य रोकिएको छ ।

maya metro hospital

नगरपालिकाको कृषि शाखाका कार्यरत नायब प्राविधिक सहायक सपना गुरुङ्ग देउवाले शाखामा कर्मचारी अभाव भएका कारण परिचय पत्र वितरणको कार्य रोकिएको बताइन । उनले शाखामा कार्यरत शाखा प्रमुख बिदामा रहेको र आफू एक्लैले अन्य कार्य पनि हेर्नुपर्ने भएकाले केही समयदेखि परिचय पत्र वितरण प्रकृया रोकिएको बताइन । ‘एक त शाखामा कर्मचारी नै अभाव छन्, त्यसमा पनि शाखा प्रमुख बिदामा हुनुहुन्छ’ उनले भनिन् ‘म एक्लैले शाखाका अन्य विभिन्न कार्यहरू पनि गर्नुपर्ने भएकाले त्यतातिर ध्यान दिन सकिएको छैन ।’ उनले शाखा मार्फत असहज हुने देखिएपछि आफूहरूले वडा कार्यालय मार्फत नै वितरण गर्ने गरी परिचय पत्रहरू वडामा पठाएको समेत बताइन । यद्यपि उनले पठाइएका परिचय पत्रहरू वितरण भएनभएको बारे कुनै जानकारी भने नराखेको बताइन ।

lotus school

किसानहरू परिचय पत्र लैजान आउदैनन्

attariya hospital

नगरले कृषकहरूको वर्गीकरण गरेर किसान परिचय पत्र वितरण गर्ने कार्य सुरु गरेपनि किसानहरू भने परिचय पत्र लैजान नआउने गरेको वडा कार्यालयहरुले गुनासो गरेका छन । वडा नं. १ का वडाध्यक्ष गोपाल दत्त भट्टले वडामा केही किसानहरूले आफ्नो नामको परिचय पत्र लागेपनि केहीले भने अझै लैजान बाँकी रहेको बताए । उनले परिचय पत्र लैजाने विषयमा किसानहरूले मतलब नगर्दा वडामा ल्याएर परिचय पत्र थन्क्याएर राख्नुपरेको समेत बताए ।
यस्तै वडा नं. २ की वडा सचिव दिव्या कुमारी जोशीले नगरबाट पठाइएका परिचय पत्रहरू वडामै राख्नुपरेको बताइन । उनले परिचय पत्र लैजानका लागि पटक पटक जानकारी गराए पनि कृषकहरू नआउँदा समस्या भएको बताइन । नगरका १ र २ वडामात्रै नभई अधिकांश वडाहरुको समस्या सोही रहेको बताईएको छ ।

फाराम भर्नमै त्रुटि

किसानहरुको वर्गीकरणको फाराममा त्रुटि हुँदा पनि परिचय पत्रहरू वितरण हुन सकेका छैनन् । वडा कार्यालयहरुमा पठाइएका परिचय पत्रका आधारमा कृषकहरूको वर्गिकरण नभएको वडा कार्यालयहरुले बताएका छन । वडा नं. ४ का वडाध्यक्ष हेमप्रकाश मल्लले फारामको त्रुटिकै कारण वडामा परिचय पत्र वितरण नभएको बताए । उनले परिचय पत्र वितरणका लागि तयारी थालिएपनि वर्गिकरणका समयमा फाराममा गलत विवरण भरिदाँ समस्या हुन थालेपछि त्यसको समाधानमा केन्द्रित भएको बताए । ‘हाम्रो वडामा त फाराम भर्नेले नै गलत भरेको छ, बढी कृषिकर्म गर्ने र बढी जमिन भएकोलाई विपन्नमा राखिएको छ भने कम भएकोलाई सम्पन्नमा राखिएको छ’ उनले भने ‘त्यसैले पनि हामीले परिचय पत्र वितरण गरेका छैनौ, त्यो समस्या समाधान गरेर वितरण गर्ने योजना बनाएका छौ ।’

वडा नं. १ का वडाध्यक्ष गोपाल दत्त भट्टले पनि फाराम भर्नमा त्रुटि भएको बताए । उनले केही कृषकहरुको फाराममा समस्या आउँदा त्यस्तालाई कृषि शाखामा पठाउने गरेको बताए । उनले परिचयपत्र को वर्गिकरणका लागि फाराम भर्ने सहजकर्ताहरुले गलत भर्दा अहिले समस्या भएको बताए । गोदावरी नगरपालिकाको आयोजना, केयर नेपाल र राष्ट्रिय कृषक समूह महासंघ नेपालको सहकार्यमा संचालित कार्यक्रम अन्तरगत गोदावरीमा किसानहरुलाई परिचय पत्र वितरण सुरु गरिएको थियो । जस अन्तरगत किसानहरुलाई मापदण्डका आधारमा रातो, सेतो, पहेलो र निलो रंगको परिचय पत्र वितरण गरिने बताईएको छ ।

भूमिहीन, सीमान्त, मजदुर किसानलाई रातो, साना किसानलाई सेतो, मध्यम किसानलाई पहेलो र ठूला किसानलाई निलो परिचय पत्र वितरण गर्ने गरी वर्गीकरण गरिएको छ । वर्गीकरणका आधारमा रातो, सेतो, पहेलो र निलो परिचय पत्र भएका किसानहरुलाई क्रमशः १००, ७५, ५० र २५ प्रतिशत अनुदान दिने मापदण्ड बनाइएको छ । नगरमा उक्त कार्यक्रम सञ्चालनका लागि केयर नेपालले १२ लाख र गोदावरी नगरपालिकाले ७ लाख लगानी गर्ने सम्झौता २०७८ फागुनमै भएको थियो । किसान परिचय पत्र वितरणका लागि तथ्याङ्क संकलन गरिसकिएको छ ।

नगरले गरेको वर्गीकरणका आधारमा रातो अर्थात भूमिहीन, सीमान्तकृत र कृषि मजदुर परिचय पत्र पाउने किसानको संख्या ४ हजार ७७, सेतो अर्थात साना किसानको परिचय पत्र पाउने किसानको संख्या ७ हजार ९५०, पहेलो अर्थात मझौला परिचय पत्र पाउने किसानको संख्या २ हजार २४४ र निलो अर्थात ठूला किसानको परिचय पत्र पाउने किसानको संख्या १३३ रहेको छ । तथ्याङ्क लिइएका मध्ये केही किसान भने कुनै पनि सूचीमा परेका छैनन् ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.