सुर्खेत- मुगुमा आगलागी हुँदा एउटै घरका दाजुबहिनीको मृत्यु भएको छ । जिल्लाको खत्याड गाउँपालिका–२ गाडेखोलाका लालु सञ्ज्यालको घरमा आइतबार राति आगलागी हुँदा उनका १४ वर्षीय छोरा विशाल र १२ वर्षीया छोरी झरनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख डीएसपी वीरेन्द्र थापाका अनुसार लालुको घरमा उनकी श्रीमती र दुुई छोराछोरी बस्दै आएका थिए । लालु कामका लागि भारत गएका छन् । लालुकी श्रीमतीले ताप्नका लागि बालेको आगो राति निभाउन भुल्दा आगो लागेको प्रहरीको प्रारम्भिक अनुमान छ ।

आगलागीमा छोराछोरीको मृत्यु भएको तर आमा भने भागेर बाँच्न सफल भएको डीएसपी थापाले बताए । उनको गोठभित्र रहेका चौपाया पनि आगलागीमा परी मरेका र आगलागीबाट घरमा धनसम्पत्ति, पशु चौपाय र खाद्यान्न पूर्ण रूपमा क्षति भएको प्रहरीले जनाएको छ । क्षतिको यकिन विवरण आइनसकेको प्रहरीले जनाएको छ ।
