अत्तरिया– कैलालीको धनगढी उपमहानगरपालिका–१६ भादाका रामकुमार चौधरी च्याउ खेती र माछापालन गरिरहेका छन् । ६ ओटा टनेल बनाएर च्याउखेती गरिरहेका उनले एक बिघा जमिनमा पोखरी बनाई माछापालन पनि गरिरहेका छन् ।
करिब सात वर्ष पहिलेदेखि नै धान गहुँ खेतीमा मात्र सीमित नभई च्याउ खेती सुरु गरेका उनी अहिले मनग्य आम्दानी लिइरहेको बताउँछन् । परम्परागत खेतीमै रहँदा राम्रो आम्दानी लिन नसकिएपछि च्याउ खेतीतिर लागेको उनी बताउँछन् । ‘हाम्रो बाउबाजेको पालादेखि नै धान, गहुँ लाउँदै आइरहेका छौँ, त्यसबाट राम्रो आम्दानी लिन सकिएको अवस्था छैन,’ उनी भन्छन्, ‘मैले अहिले च्याउ खेती, माछापालन गरेर राम्रो कमाइरहेको छुँ ।’


रामकुमारको श्रीमती र एक छोरासहित तीन जनाको परिवारको छ । परिवार सानो भएकाले खेतीमा उनको दम्पतीले मात्रै भ्याउँदैनन् । उनले च्याउ खेतीका लागि मौसमी रुपमा ५ जना कामदार लगाउने गरेका छन् । भदौदेखि फागुनसम्म ७ महिना कामदार लगाएर काम गर्ने गरेको उनी बताउँछन् । ‘च्याउका लागि वर्षभरि कामदार लगाउनु पर्दैन, भदौदेखि फागुनसम्म त्यही ६/७ महिना मान्छे लगाउनु पर्छ । सिजनमा मात्रै हो कामदार चाहिने,’ उनले भने ।
उनको कृषि कर्मलाई उदाहरणीय मान्न सकिन्छ । उनले कृषिबाट आफू त मनग्य आम्दानी लिइ नै रहेका छन्, अरुलाई पनि मौसमी रुपमै भएपनि रोजगारी दिएका छन् । उनले एक सिजनमा ८० देखि १०० क्विन्टलसम्म च्याउ बेच्ने गरेका छन् । च्याउ बेच्नका लागि धनगढीको त्रिनगर हाटबजार पुर्याउने गरेको उनले बताए । ‘सिजनमा कम्तिमा पनि ७०/८० क्विन्टल च्याउ बेचिन्छ, कुनै सिजनमा यो भन्दा बढी पनि हुन्छ,’ उनले भने, ‘च्याउका लागि बजार पाउन समस्या छैन, धनगढीका हाट बजारहरुमा पुर्याउनुपर्छ मज्जाले बेचिन्छ । त्रिनगर हाटबजार हप्तामा तीन दिन लाग्छ, च्याउ त्यहीँ पुर्याउने गरेको छुँ ।’
बाटोको समस्या भएका कारण च्याउ किन्नका लागि बारीसम्म कोही पनि नआउने हुँदा बजार नै पुग्नुपर्ने उनी बताउँछन् । ‘च्याउ बेच्नका लागि बजार नै पुग्नुपर्छ, हाम्रो यता बाटो अलि खराब छ, त्यही भएर आउँदैनन्, हाट बजार पुर्याउनै पर्छ,’ उनले भने । उनले अहिले १०० क्विन्टल च्याउ बेचिसकेको बताए । ‘असोजदेखि बेच्दैछौँ, सय क्विन्टल पुगिसक्यो,’ उनले मुस्कुराउँदै भने । रामकुमारले च्याउबाट वर्षको ६ लाख बढी आम्दानी लिइरहेको बताए । दुई/ढाई लाख लगानीमा च्याउ खेती गरेर ६ लाख बढी रुपैयाँ आम्दानी लिइरहेको उनले बताए ।


उनले माछापालनबाट पनि राम्रो आम्दानी लिइरहेका छन् । एक लाख रुपैयाँ लगानी लगाएर माछापालनबाट वार्षिक तीन लाख रुपैयाँ आम्दानी लिन सकिरहेको उनी बताउँछन् । ‘माछा पाल्न थालेको पनि त्यही ७/८ वर्ष नै भयो, एक लाख जति लगानी लाग्छ, खर्च कटाएर तीन लाखभन्दा बढी नै आम्दानी हुन्छ,’ उनले भने ।
एक बिघा क्षेत्रफलमा माछापालन गरिरहेका उनले पोखरीमा विभिन्न जातका माछा राखिएका बताए । ‘अहिले राहु, सिल्भर, नैनी जातका माछाहरु छन्, मैले पाल्ने गरेको भनेको यिनै हो,’ उनले भने । उनले माछा पालनका लागि पनि एक जना कामदार राखेका छन् । उनले सधैँजसो नै हेर्ने गरी कामदार राखेका हुन् । माछाका लागि सधैँ एक जना चाहिराख्ने भएकाले एक जनालाई काममा राखिएको उनले बताए । ‘माछाका लागि एक जना मान्छे वर्षभरि नै काम गर्ने गरी छन्, भुरा हाल्ने, दाना हाल्ने सबै काम उनले नै हेर्छन्,’ रामकुमारले भने ।

माछा विक्रीका लागि भने कतै पनि जानु नपरेको उनी बताउँछन् । ‘माछा किन्नेहरु घरमै पुग्छन्, बाहिर बजार लैजानै पर्दैन,’ उनी भन्छन् । माछा विक्री पनि एकदमै चाडो भइहाल्ने गरेको उनी सुनाउँछन् । ‘माछा बेच्न लायकको हुने बितिक्कै फटाफट विक्री भइहाल्छ, ८/१० दिनमै सिद्धिहाल्छ,’ उनले भने । उनले एक वर्षमा १० देखि १२ क्विन्टलसम्म माछा विक्री गर्ने गरेको बताए ।
उमेरले ४१ वर्षीय रामकुमारले च्याउखेती र माछापालन मात्रै होइन काँक्राखेती पनि गर्ने गरेका छन् । उनले मौसमी रुपमा काँक्राखेती गर्ने गरेका हुन् । दुई कट्ठा जमिनमा काँक्राखेती गर्ने गरेका उनी काँक्राबाट पनि राम्रो आम्दानी हुने गरेको बताउँछन् । ‘काँक्रा पनि सिजनमा लगाउने गरेको छुँ, यो वर्ष २० क्विन्टल भन्दा बढी नै काँक्रा बेचे,’ उनले भने ।
एक सिजनमा २० क्विन्टलभन्दा बढी नै काँक्रा फलाउने गरेको बताउने उनी काँक्रा किन्नका लागि भने छिमेकमा रहेकाहरु तथा वरपर गाउँकै मान्छेहरु आउने गरेको बताउँछन् । ‘काँक्रा बाहिर बेच्न जाने गर्या छैन, छिमेकका वरपर गाउँकै मान्छेहरु आउँछन् किन्नका लागि, यतै विक्री भइहाल्छ,’ उनी भन्छन्, ‘गाउँका मान्छेहरु पैसा दिँदैनन्, गहुँ दिएर काँक्रा किन्छन् । हामीसँग धान गहुँका लागि जमिन छँदैछ, काँक्रासँग साटेको गहुँ बेचिदिन्छौँ ।’
उनले काँक्रावापतको गहुँ तीन हजार रुपैयाँ क्विन्टलका हिसाबले बेचेको बताए । काँक्राबाट पनि ६० देखि ८० हजार रुपैयाँसम्म आम्दानी लिइरहेको उनी बताउँछन् । गहुँ माछालाई खुवाउनका लागि पनि चाहिने हुँदा काँक्रासँग साटेको गहुँबाट छुट्याएर राख्ने गरेको उनले बताए । उनले घरमा हाँस, कुखुरा पनि पालेका छन् ।