कञ्चनपुर- कञ्चनपुरको दोदा (मछेली) नदीमा बाढी पूर्वसूचना यन्त्र (राडार लेभल सेन्सर) जडान गरिएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको महाकाली बेसिन फिल्ड कार्यालय अत्तरीया कैलालीको प्राविधिक सहयोगमा यन्त्र जडान गरिएको हो ।

यो यन्त्रले १०–१० सेकेण्डमा नदीमा पानीको सतह घटे बढेको जानकारी दिने फिल्ड कार्यालय अत्तरियाका प्रमुख सञ्जय शाहले बताए । उनमा अनुसार यन्त्रले दिने सूचना मौसम विभागको वेबसाइटमार्फत अपडेट भइरहने भएकाले वेबसाइटबाट पनि बाढीबारे जानकारी पाउन सकिने छ ।

निड्स कञ्चनपुरका विपद्सम्बन्धी कार्यक्रम संयोजक नवीन भट्टले बाढी प्रभावित क्षेत्रका बासिन्दाले बाढी आउनुपूर्व नै सूचना पाउने हुँदा सुरक्षित स्थानमा जानसक्ने र धनजन जोगाउन मद्दत पुग्ने बताए । यसले नदीको तल्लो तटीय क्षेत्र लालझाडी, पुनर्वास, बेलौरीलगायतका पाँच हजार परिवारको बाढीबाट सुरक्षा हुने उनले बताए ।
उक्त यन्त्र १० लाख रुपैयाँ बढीको लागतमा जडान गरिएको बताइएको छ ।
















