अत्तरिया – अत्तरिया महोत्सवमा भेटिएको नक्कली टिकट ठेली प्रकरणको छानविनका लागि दवाव दिन थालिएको आन्दोलनमा गोदावरी चेम्बर अफ कमर्सले ऐक्यवद्धता जनाएको छ । अत्तरियाका व्यवसायीहरूले ‘नक्कली टिकट प्रकरण सत्य तथ्य छानविन दवाव संघर्ष समिति’ गठन गरी थालेको दवावमुलक आन्दोलनमा चेम्बरले ऐक्यवद्धता जनाएको हो ।
गोदावरी चेम्बर अफ कमर्सले सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा नक्कली टिकट ठेली प्रकरणका दोषीलाई जोगाउने र निर्दोषलाई फसाउने कार्य भएको आशंका उब्जिएको उल्लेख छ ।


अध्यक्ष मोहम्मद नर्रमुद्दीन भाटद्धारा जारी विज्ञप्तिमा दोषीलाई सार्वजनिक गर्दै अपराधीलाई कानुनी कारवाही नगरिए गोदावरी चेम्बर अफ कमर्स न्यायको लागि सघर्षको मैदानमा आउने उल्लेख छ ।
अत्तरियामा पुस २६ गतेदेखि माघ ७ गते सम्म सञ्चालित सुदूरपश्चिम महोत्सवको आठौं दिन २८ वटा नक्कली टिकट ठेली बरामद गरिएका थिए । नक्कली टिकट ठेलीबाट टिकट काटेर महोत्सव आयोजक अत्तरिया उद्योग वाणिज्य संघलाई हानी नोक्सानी पु¥याएको भन्दै छानविन गरी दोषी पत्ता लगाउन माग गरिदै आएको छ ।



















