अत्तरिया – कलाकार/नायक पल शाहको क्रेज अत्तरियामा पनि उस्तै देखिएको छ । पछिल्लो समय मञ्चहरुमा दर्शकहरुको उल्लेख्य साथ पाइरहेका पल शाहले अत्तरियामा जारी सुदूरपश्चिम प्रादेशिक महोत्सवमा पनि दर्शकको उल्लेख्य साथ पाएका छन ।

मंगलबार महोत्सवमा अधिकांश दर्शक पल शाहकै प्रस्तुती हेर्न पुगेका थिए । साँझ ५ बजे मञ्चमा पल शाह चढ्दा उपस्थित हजारौ दर्शकले हुटिङ गरेर उनलाई साथ दिएका थिए । आयोजलाई भिड समाल्न समेत हम्मे हम्मे परेको थियो । बिभिन्न गितहरुमा नृत्य गरेका पल शाहले संगसंगै स्टेज नजिक उभिएका दर्शक संग हात मिलाउदै अभिनन्दन पनि गरिरहेका थिए ।

आयोजकका अनुसार मंगलबार ३० हजार बढी दर्शकले महोत्सव स्थलमा प्रवेश गरेका थिए । जुन आठौं संस्करणकै ठूलो संख्या हो । यसअघि सोमबार पनि करिब २० हजार दर्शकले अवलोकन गरेका थिए । सोमबार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमीरे (सुन्तली) सहित टेक बोगटी, टेक बिसी, आस्मा भण्डारी र सौगात ओझाकोे प्रस्तुती रहेको थियो ।

मंगलबार पल शाह संगै एलिना चौहान, डेउडा गायक भुवन, अनिता चलाउने, श्रृजना खत्री र दुर्गा भट्ट लगायतका कलाकारले आफ्नो प्रस्तुती राखेका थिए ।
अत्तरियाको लामीताल परिसरमा जारी महोत्सवमा माघ ७ गतेसम्म संचालन हुने छ । महोत्सवमा बुधबार पुष्कल शर्मा, टंक तिमिल्सिना, टिका जैसी, रेस विसी, रमेश मल्ल, अमृत नाथ लगायतका कलाकारले प्रस्तुती राख्ने अत्तरिया उद्योग वाणिज्य संघका कलासँस्कृति संयोजक रमेश भट्टराईले बताएका छन ।
