अत्तरिया – कैलालीको गोदावरी धाम सुदूरपश्चिमकै धेरै दर्शनार्थी पुग्ने धार्मिक स्थल बन्न थालेको छ । २०७२ सालमा गोदावरीमा महाकुम्भ मेला लागेयता यहाँ माघे सङ्क्रान्तिमा दर्शनार्थीको चाप बढ्दै जान थालेको छ । गोदावरी धाम विकास समितिले पहिलो पटक गोदावरीमा महाकुम्भ मेला लगाउँदा यस क्षेत्रको व्यापक प्रचारप्रसार गरेको थियो । त्यसपछि यस क्षेत्रले पछि फर्कनु परेको छैन । तर, गोदावरीको प्रचारप्रसार सँगै यहाँ च्याउ झै बिभिन्न समितिहरू उम्रिन थालेपछि भने हाल गोदावरी धाम बेलगाम जस्तै बन्न पुगेको छ ।

आफूखुसी मन्दिर निर्माण, मन्दिर पिच्छे समिति र समिति पिच्छे आआफ्ना कार्यक्रम संचालन हुन थालेको छन । त्यसकै झल्को सोमबार माघे सङ्क्रान्तिमा पनि देखियो । गोदावरी धाम विकास समितिले गोदावरी धाम वारी बाह्र राशि दर्शन मकर मेला आयोजना गर्दा पारि पञ्च दशनाम जुना अखडा शिव भगवती मन्दिर गोदावरी तिर्थधामले छुटै कार्यक्रम आयोजना गरेको थियो । आमने सामने माइक लगाएर छुट्टाछुट्टै कार्यक्रम गरिदा कसले के बोलिरहेका छन भन्ने ठम्याउन समेत सकस परिरहेको थियो ।


माघे सङ्क्रान्तिको अवसरमा गोदावरी धाम पुगेका वडा अध्यक्ष भीम बहादुर खड्काले वारी पारी छुट्टाछुट्टै समितिले छुट्टाछुट्टै कार्यक्रम गर्दा नराम्रो सन्देश गएको बताए । उनले गोदावरी धाममा पहिलेको तुलनामा धेरै विकास भएपनि धाम भित्र धेरै समितिले आफूसुखि काम गर्दा समस्या भएको बताए । उनले समितिहरू माघे सङ्क्रान्तिमा पैसा उठाउन केन्द्रित भएको बताए ।

‘दुई ठाउँमा माइक बजिरहेका छन । खोला पारी र बारी माइकिङ गरेर यती पैसा दियो उति दियो भनेर भनिरहेका छन’ उनले भने ‘यसरी पैसा दिएको भन्नु भन्दा पनि भजन कृतन गरिएको भए मानिसहरूले आनन्द लिन्थे । यसमा व्यवस्थापन समितिहरूले सुधार गर्न आवश्यक छ ।’
गोदावरी धाम व्यवस्थापन समितिका अध्यक्ष पदम राज जोशीले अब गोदावरी धाम राज्यले नै नियन्त्रणमा लिनुपर्ने बताए । ‘यो धामको व्यवस्थापन अब आम नागरिकले मात्रै गर्न सक्ने अवस्था छैन । सरकारले अव यसलाई प्राधिकरण बनाएर बजेटको व्यवस्था गर्नुपर्छ । यहाँ सरकारले नै कर्मचारी राख्नुपर्छ’ उनले भने ‘यो क्षेत्र अव सरकारको नियन्त्रणमा आउनु पर्छ ।’
उनले गोदावरी धाम वारी बाह्र राशि दर्शन मकर मेलाको पहिलो दिन ३ लाख भन्दा बढी दर्शनार्थी आएको बताउँदै अब यस क्षेत्रमा सहजै दर्शन गर्नका लागि राज्यले धेरै काम गर्नुपर्ने बताए । ‘यसको प्रचारप्रसार हुँदा हाल भारतबाट पनि दर्शनार्थी आउन थालेका छन । अब यसको व्यवस्थापनमा पनि धौ धौ हुने अवस्था छ’ उनले भने ‘अबको महाकुम्भमा १ करोड सहभागि हुने आकलन छ । अव श्रद्धालुलाई यस क्षेत्रमा सहजै दर्शन गर्नको लागि धेरै काम गर्नुपर्ने छ ।’
गोदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्टले गोदावरी धाममा दर्शनार्थीको चाप अनुसार धेरै काम गर्न बाकी रहेको बताए । उनले गोदावरीमा पानी कम भएकाले अझै डुप्की लगाउनका लागि ठूलो तलाउको आवश्यकता महसुस भएको बताए । उनले २०८४ मा गोदावरीमा लाग्ने महाकुम्भ मेलाको लागि डिपिआर बनाए अनुसारका काम गर्न सके अझै धेरै मानिस गोदावरीमा भित्र्याउन सकिने बताए ।
गोदावरीको एकीकृत विकास गर्नको लागि लामो समय देखि आवाज उठ्दै आएको भएपनि त्यसले अझै सार्थकता पाउन सकेको छैन । गोदावरी नगरपालिका क्षेत्रमा रहेको गोदावरी धामको संरक्षणमा लागि नगरपालिकाले ऐन बनाएको भएपनि त्यो कार्यान्वयनमा आउन सकेको छैन । नगरको ऐनमा गोदावरीका सबै समितिलाई समेट वृहत गोदावरी विकास बोर्ड गठन गरिने उल्लेख छ । ऐन अनुसार बोर्ड गठन गरेर डिपिआर अनुसार काम गर्न सके यस क्षेत्रको पर्यटन विकासमा ठूलो टेवा पुग्ने सरोकारवालाहरूको भनाइ छ ।