खाेज्नुहाेस

कञ्चनपुरका नाकाबाट ३८ बालिकाको उद्धार, फोनको कुराका भरमा हिँड्छन् भारत

Image
सांकेतिक तस्बिर

अत्तरिया- कञ्चनपुरका सीमानाकाबाट ३८ जना बालिकाको उद्धार गरिएको छ । कञ्चनपुर प्रहरीका अनुसार पाँच महिनाको अवधिमा नाकाबाट ३८ जना बालिकाको उद्धार गरिएको हो ।

चालु आर्थिक वर्ष २०८०/०८१ मा जिल्लाका नाकाबाट उद्धार गरिएकामध्ये बालिकाहरुको संख्या धेरै छ । त्यसपछि महिलाको संख्या धेरै छ । पाँच महिनाको अवधिमा ३० जना महिलाको उद्धार गरिएको छ । नाकाबाट उद्धार गरिएका बालकको संख्या नौ छ ।

attariya hospital

चालु आर्थिक वर्षको मंसिर महिनासम्ममा ३८ बालिकासँगै ३० महिला र नौ बालक गरी ७७ जनाको उद्धार गरिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको तथ्याङ्क अनुसार साउन महिनामा मात्रै १३ बालिकाको सीमाबाट उद्धार गरिएको छ । भदौमा चार, असोज र कार्तिकमा पाँच/पाँच र मंसिरमा ११ जना बालिकाको उद्धार गरिएको छ ।

navjiwan hospital

त्यसैगरी भदौमा मात्रै १२ जना महिलाको उद्धार गरिएको छ । साउनमा र असोजमा तीन/तीन, कार्तिकमा पाँच र मंसिरमा सात जना महिलाको उद्धार गरिएको छ । यो पाँच महिनाको अवधिमा ३० जना महिलाको उद्धार गरिएको हो ।
त्यस्तै, बालकहरुको संख्या नौ जना छ । साउनमा एक, भदौमा दुई, असोजमा एक, कार्तिकमा तीन र मंसिरमा दुई बालकको उद्धार गरिएको छ ।

उद्धार गरिएकाहरुमध्ये अधिकांशजसो कामका लागि भारत जान लागिरहेका पाइने गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले बताए । त्यस्तै, केही संख्यामा उमेर नपुगी विवाह गर्नका लागि भागेर गइरहेको अवस्थामा भेटिने गरेका उनले बताए ।

‘बढीजसो काममा लागि भारत गइरहेका हुन्छन्,’ उनले भने, ‘केही उमेर नपुगी भागेर बिहे गर्न गइरहेका पनि हुन्छन् ।’ उनले फोनबाट कुरा भएका भरमा गइरहेका पाइने गरेकामा बेचबिखनको जोखिम हुने भएकाले नाकाबाट फर्काइने गरेको बताए । ‘फोनबाट सम्पर्क भएर गइरहेका हुन्छन्, के काम गर्ने हो भन्दा जवाफ हुँदैन, अनि बेचबिखनमा पर्न सक्छन् भनेर नियन्त्रणमा लिन्छौँ,’ उनले भने ।

विशेषगरी जिल्लाको मुख्य नाका गड्डाचौकीबाट महिला एवं बालबालिका भारत गइरहेका हुन्छन् । गड्डाचौकीसँगै त्रिभुवन बस्ती, ब्रह्मदेव लगायतका जिल्लाभरका अन्य नाकाबाट पनि भारत गइरहेका भेटिने गरेका प्रवक्ता डाँगीले बताए । उनले जिल्लाभरका सीमानाकाहरुबाट उक्त संख्यामा महिला बालबालिकाहरुको उद्धार गरिएको बताए ।