सन्तोष पन्त, कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नरपालिका करारका कर्मचारीले भरिएको छ । नगरपालिकाकामा हाल ४ सय ३० कर्मचारी कार्यरत रहेकोमा त्यसमध्ये २ तिहाइ बढी करार र ज्यालादारी कर्मचारी कार्यरत रहेका छन । जसमा स्थायी कर्मचारी १२५ जना रहेका छन भने बाँकी १६६ जना करार सेवा र १३९ जना दैनिक ज्यालादारीमा कार्यरत रहेको प्रमुख प्रशासकीय अधिकृत याम नारायण गौलीले बताए ।
नगरपालिकामा ३४६ कर्मचारीको दरबन्दी भएपनि नगरले सो भन्दा बढी कर्मचारी भर्ना गरेको छ । नगरको वित्तीय परिचालन योजना अनुसार नगरमा २०७९ माघ मसान्त सम्ममा प्रमुख प्रशासकीय अधिकृत सहित १२९ स्थायी, १६० करार सेवा र ९१ जना दैनिक ज्यालादारी गरी ३८१ कर्मचारी कार्यरत रहेकोमा हाल एक वर्षको अवधिमा करार र ज्यालादारी कर्मचारीको संख्या ह्वातै बढेको छ । एक वर्षको अवधिका मात्रै करार र ज्यालादारीका ५४ कर्मचारी थपिएका छन । हाल नगरमा करार र ज्यालादारीका कर्मचारी मात्रै ३०५ कर्मचारी कार्यरत रहेका छन ।

करार र ज्यालादारीका कर्मचारी मध्ये ७ जना पालिका प्रमुख र उपप्रमुखको सचिवालयमा मात्रै कार्यरत रहेका छन । नगरपालिका प्रमुख र उपप्रमुखले आफ्नो सचिवालयमा दुई –दुई जना दैनिक ज्यालादारीमा गरि ७ जनालाइ नियुक्त दिएका छन ।
नगर प्रमुख पदम बोगटीले दैनिक ज्यालादारीमा कार्यालय सहायक भनेर दक्षकामदारमा उत्तर बहादुर कुवर, कार्यालय सहयोगीमा देबेन्द्र खड्का दैनिक ज्यालादारीमा छन भने करारमा कार्यालय सहयोगी जयप्रकाश पन्त र स्थायी नगर प्रहरी जवान शंकर बहादुर बिक छन् ।

पालिका प्रमुख बोगटीले आफ्नो कामकाज सहजीकरणका लागी चक्र महतालाई समेत सचिवालयमा राखेका छन । तर नगरपालिकामा कार्यरत कर्मचारीको सूचीमा महताको नाम भने उल्लेख छैन । महतालाई नगरप्रमुखले आफ्नो कामकाजको सहजीकरणका लागि राखिएको बताइन्छ ।
उपप्रमुख निलम लेखक जोशीको सचिवालयमा सहायक कम्पुटर अपरेटर पार्वती कुमारी सिंह, कार्यालय सहयोगी कमला कुमारी देउवा साउदलाई दैनिक ज्यालादारी र नगर प्रहरी जवान मनिशा कुमारी उपाध्याय सचिवालयमा कार्यरत छन ।
नगरपालिका करार र ज्यालादारीका कर्मचारीले भरिदै गएको भएपनि नगरपालिकाले भने आवश्यक कर्मचारी मात्रै राखिएको जनाएको छ । पालिकाका प्रमुख प्रशासकीय अधिकृत याम नारायण गौलीले कार्यालयमा सेवा प्रवाह बढेकोले दरबन्दी भन्दा बढी कर्मचारी राखिएको बताए । नगर प्रवक्ता महेन्द्र खडकाले भने कर्मचारीका बिषयमा आफूले नबुझेको बताए । उनले कर्मचारीका बिषयमा बोल्न बुझ्नुपर्ने बताए । नगरपालिकाका प्रमुख उपप्रमुख भने कर्मचारीका बारेमा बुझ्न खोज्दा फोन उठाएनन् ।
स्थानीय सरकार संचालन ऐन २०७४ मा नगरपालिकाले नगर प्रहरी, सवारी चालक, सयश, कार्यालय सहयोगी, प्लम्बर, इलेक्ट्रिसिय, चौकीदार, माली, बगैँचे र सरसफाइ सम्बन्धी कर्मचारी प्रतिस्पर्धाको आधारमा सेवा करारबाट राख्न पाउने प्रावधान भएपनि पहुचका आधारमा हाल नगरमा ज्यालादारी कर्मचारी भरिएका छन । नगरपालिका करार र ज्यालादारी कर्मचारीले भरिदा व्यवभार पनि थपिएको छ । कर्मचारी पाल्नमा मात्रै नगरको बजेट बढी खर्च हुँदा चाल र पुजिगत खर्चको अन्तर पनि बढ्दै गएको छ ।
नगरपालिकाले चालु आर्थिक वर्षका लागि १ अर्व ८१ करोड बढी बजेट विनियोजन गरेकोमा पूँजीगत खर्चका लागि २१ प्रतिशत अर्थात ३७ करोड ९७ लाख ४४ हजार मात्रै बजेट विनियोजन गरिएको छ । ४९.८ प्रतिशत बजेट चालू तर्फका लागि खर्च हुँदै आएको छ । नगरको २७.६ प्रतिशत बजेट सामाजिक सुरक्षा भत्तामा खर्च हुने गरेको छ ।
















