काठमाडौँ- ललितपुरको बालकुमारीमा युवाहरुले गरेको प्रदर्शनमा प्रहरीको गोली लागेर मृत्यु भएका वीरेन्द्र शाह अछामका भएको खुलेको छ । विभिन्न सञ्चार माध्यममा डोटी घर भनिएका मृतक शाहको घर अछामको चौरपाटी गाउँपालिका-१ रहेको डोटी प्रहरीले पुष्टि गरेको हो ।
आज रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर बालकुमारीमा युवाहरुले प्रदर्शन गरेका थिए । अवस्था तनावपूर्ण भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो । प्रहरीको गोली लागेर घाइते भएका उनको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले बताए ।
प्रदर्शनमा उत्रिएका युवाहरुले सडक अवरुद्ध पार्दै भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडी रोकेर आगजनी गरेका थिए । मन्त्रीको गाडीमा आगजनी र अरु सार्वजनिक गाडीमा तोडफोड गर्न थालेपछि बल प्रयोग गर्नुपरेको प्रहरीले जनाएको छ ।