यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी
काठमाडौँ- भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले प्रयोग गरेको बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी गरिएको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवाहरूले ललितपुरको बालकुमारीमा मन्त्रीको गाडीमा आगो लगाएका हुन् ।
प्रदर्शनकारीले मन्त्री र पीएसओलाई गाडीबाट बाहिर निकालेर आगो लगाएका थिए भने सडक पनि अवरुद्ध पारेका छन् ।
ईपीएस कोरिया शाखाले उत्पादनमूलक क्षेत्रका लागि आवेदन आह्वान गरेको थियो । त्यसमा यसअघि सिप बिल्डिङ क्षेत्रका लागि आवेदन दिएकाहरूलाई आवेदन दिन नपाउने भनिएको थियो । त्यसको विरोधमा उनीहरू आन्दोलनमा उत्रिएका हुन् ।
उच्च अदालत पाटनमा समेत मुद्दा दायर गरिएको थियो । जसमा सुरज पाठकसहित १८ जनालाई आवेदन फाराम भर्न दिन र सबै प्रक्रियामा सहभागी गराउन अन्तरिम आदेश जारी गरेको थियो । अदालतको अन्तरिम आदेश जारी भएपछि ईपीएस कोरिया शाखाले आज फाराम भर्नका लागि कार्यालयमा सम्पर्क गर्न सूचना जारी गरेको थियो ।
१८ जना बाहेकलाई पनि प्रक्रियामा सहभागी गराउनुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका हुन् ।