हेटौँडा – हेटौँडामा सातै प्रदेशका मुख्यमन्त्रीहरूको भेला सुरु भएको छ । संघीयता कार्यान्वयनमा देखिएका अस्पष्टता र दोहोरोपन हटाउनुपर्ने, तीन तहका साझा सूचीमा रहेका अधिकारसम्बन्धी कानुन निर्माणमा सहकार्य गर्नेुपर्ने जस्ता विषयमा दवाव दिने उद्देश्यले भेला सुरु भएको हो ।

भेलालाई सम्बोधन गर्दै बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले संघीयता कार्यान्वयनमा सकारात्मक सुरुवात भएको बताए । उनले संघीयता कार्यान्वयनको विषयमा तीनै तहका सरकारले सकारात्मक ढंगबाट काम गरेको दाबी गर्दै नेपालमा संघीयता कार्यान्वयनमा खासै समस्या नरहेको बताए ।

भेलामा मुख्यमन्त्रीहरुको बोल्ने क्रम जारी रहेको छ । शुक्रबारसम्म चल्ने भेलामा सातै प्रदेशका मुख्यमन्त्रीहरूसँगै गाउँपालिका राष्ट्रिय महासंघ र नगरपालिका महासंघका पदाधिकारीहरूको समेत उपस्थिति छ ।

















