सन्तोष पन्त /कञ्चनपुर – महाकाली सिँचाइ द्वितीय चरण अन्तर्गतको शिवनगर मेन नहर फुट्दा किसानहरूलाई सिँचाइ गर्न समस्या भएकाे छ । बेलडाँडी गाउँपालिका –५ भुर्सा विद्यालय नजिक र बेलडाँडी गाउँपालिका – ३ बनपुर्वमा नहर फुट्दा नहरमा पानी सप्लाइ बन्द भएको महाकाली सिँचाइ जल उपभोक्ता केन्द्रिय अध्यक्ष भीम बहादुर थापाले बताए ।
नहर फुट्दा बेलडाँडी गाउँपालिका र बेलौरी नगरपालिकाका किसानहरू गहुँ, लाहीमा सिँचाइ गर्न समस्या भएकाे छ । बेलडाँडी गाउँपालिका –५ ,३ झिलमिला बैबाह र बेलौरी नगरपालिका १० भुडा सडकघाट, शिवनगरका किसानहरूलाई गहुँ लाहिमा सिँचाइ आवश्यक भएका बेला नहरमा पानी नहुदाँ सास्ती खेप्न परेको छ ।
‘४ दिन भो ,दुई ठाउँ नहर फुटेको’ अध्यक्ष थापाले भने ‘मर्मत गर्न समिति सँग बजेट, साधन छैन । भएको जेसिबी अफिसले फिर्ता लग्यो ।’ क्षेत्रीय समिति सँग साधन भएपनि व्यवस्थापन गर्न बजेट नभएर काम गर्न नसकेको अध्यक्ष थापाले दुखेसो पोखे ।
गत वर्ष पनि उक्त नहर झिलमिला फुटेको थियो । सोही ठाउँमा यसपटक पनि फुटेको छ । सिँचाइले पानी सहजै सप्लाइ गर्न कार्तिकमा सरसफाइ गरिरहेको थियो । तर सरसफाइ गर्न वडा अध्यक्ष लगायत जनप्रतिनिधिले अवरोध गरेका थिए ।
‘नहर सरसफाइका क्रममा बेलडाँडा गाउँपालिका –५ ले अवरोध गर्यो । शिवनगरबाट झिलमिला सम्म सफाइ गरिसकेका थिए’ सिँचाइका अध्यक्ष थापाले भने ‘सिँचाइको भ्याक्कुले नाला सफाइ नगरेपछि वडा कार्यालयले नहर सफाइ नै रोक्यो । त्यसपछि सफाइ नहुदाँ पानी बढी भएर नहर फुट्यो ।’
साधन जुटाएर यो हप्ता भित्र मर्मत गरि पानी छाड्ने प्रयास गर्ने अध्यक्ष थापाको भनाइ छ । ३ दशक अघि विश्व बैंकको लगानीमा बनेको शिवनगर मेन नहर जीर्ण बन्दै गैरहेको छ । मर्मतका लागि सम्बन्धित सरोकारवाला निकायले बेवास्ता गरेका छन ।