काठमाडौं – प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले लगातार चौथो जित हात पारेको छ । बुधबार मधेश प्रदेशलाई ५ विकेटले पराजित गर्दै लगातार चौथो जित हात पारेको हो । मूलपानी मैदानमा मधेशले दिएको ८३ रनको लक्ष्य सुदूरपश्चिमले खेल सकिन १ बल बाँकी छँदा ५ विकेट गुमाउँदै भेट्टायो ।
सुदुरपश्चिमका लागि कविता जोशीले सर्वाधिक २६ रन बनाइन् । उनले ३८ बलमा ३ चौका र १ छक्का प्रहार गरिन् । सम्झना खड्काले २१ बलमा ३ चौकासहित २१ रन बनाइन् । रुबी पोदार १० र लक्ष्मी साउद ९ रनमा अविजित रहे । अन्तिम २ बलमा एक रन चाहिएको अवस्थामा साउदले चौका हान्दै टिमलाई जिताइन् ।
मधेशका लागि साक्षी यादव र कविता गौतमले समान २/२ विकेट लिए । पूजा महतोले १ विकेट लिइन् । टस जितेर ब्याटिङ गरेको मधेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ८२ रन बनाएको थियो । उसका लागि पूजा महतोले सर्वाधिक २७ रन बनाइन् । उनले ३१ बलमा ४ चौका प्रहार गरिन् । साना प्रविनले १९ र रोजी कडारीले १० रन बनाइन् । अन्य कुनै ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
सुदूरपश्चिमका लागि लक्ष्मी साउदले सर्वाधिक ४ विकेट लिइन् । जानकी थापा र कविता जोशीले समान १/१ विकेट लिइन् । सुदूरपश्चिम यसअघि एपीएफसँग ९ विकेटले पराजित भएको थियो । यो उसको हालसम्मको एक मात्र हार हो । त्यसपछि सुदूरपश्चिममले लुम्बिनीलाई ९ विकेट, कर्णालीलाई ८१ रन र बागमतीलाई ६ विकेटले पराजित गरेको थियो ।