तरकारीमा अन्धाधुन्द विषादीको प्रयोग

अत्तरिया – पछिल्लो समय तरकारीमा विषादीको अन्धाधुन्द प्रयोग गर्ने गरिएको छ । तरकारीलाई रोग किराबाट जोगाउनका लागि विषादी प्रयोग गरिदै आएको भएपनि सही विधि र प्राविधिकको सल्लाह बिनै विषादी प्रयोग गरिन थालेको हो । तरकारीमा रोग किराको पहिचान गरी विषादी प्रयोग गर्नुको साटो किसानहरूले भेटनरीबाट अन्धाधुन्द विषादी किनेर प्रयोग गर्ने गरेका छन । कुन विषादी प्रयोग गर्ने, कति मात्रामा प्रयोग गर्ने, विषादी प्रयोग गरेपछि कति दिन सम्म उपभोग नगर्ने भन्ने आधारभूत जानकारी बिनै विषादीको प्रयोग गर्ने गरिएको छ ।

maya metro hospital

यसरी निकै खतरनाक विषादी प्रयोग गरेका तरकारी पनि बजारमा पुग्ने गरेका छन । जसका कारण पछिल्लो समय सुदूरपश्चिम मै उत्पादन गरेका तरकारीहरूमा पनि पटकपटक विषादी भेटिन थालेको छ ।

विषादी अवशेष दु्रत विश्लेषण इकाई अत्तरियामा चालु आर्थिक वर्षमा गरिएको विषादी परीक्षणमा सुदूरपश्चिमका किसानले उत्पादन गरेका ७ तरकारीका नमूनामा खतरनाक विषादीको मात्रा फेला परिसकेको छ । सुदूरपश्चिमका नौ वटा जिल्लाका तरकारी आयात निर्यात हुने अत्तरियाको हाटबजारमा मात्रै गरिएको विषादी परीक्षणमा उपभोग गर्न नै नमिल्ने घातक विषादीको मात्रा तरकारीमा फेला परेको हो । हाटबजारमा भित्र्याइएको तरकारीमा पटक पटक विषादी भेटिने गरेको भएपनि न विषादी प्रयोग गर्ने किसानलाई सचेत गराइएको छ न उक्त तरकारी बजारमा बिक्री गर्न रोकटोक नै लगाइएको छ ।

attariya hospital

विषादी अवशेष द्रुत विश्लेषण इकाईका प्रमुख प्रमोद ठगुन्नाले किसानहरूले आवश्यक नै नभएको विषादी प्रयोग गरेको पाइने गरेको बताए । उनले किसानहरूले आफूखुसी भेटनरीबाट विषादी किनेर अन्धाधुन्द प्रयोग गरेर बजारमा पठाउने गरेको बताए । उनले प्रयोगशालामा अर्गानोफस्फोट र कार्बोमेट रोकावट दर परिक्षण गर्दा अत्याधिक मात्रामा विषादीको प्रयोग गरेका तरकारी भेटिने गरेको बताए ।

यस्ता विषादीले मानव स्वास्थ्यमा निकै खतरनाक असर पर्ने गरेको उनको भनाइ छ । ‘हामीले १० पीपीएम विषादी तरकारीको माध्यमबाट प्रयोग ग¥यौ भने त्यो हाम्रो शरीरको बोसोमा जम्मा हुन्छ । तरकारीबाट १० पीपीएम प्रयोग गरेमा त्यो हाम्रो शरीरमा पुगेर १० गुणा बढेर जान्छ’ उनले भने ‘अर्गानोफस्फोट र कार्बोमेटको एकदमै ठूलो नकारात्मक असर मानव स्वास्थ्य पर्ने भएकाले यसलाई सिरियस्ली रुपमा लिने गरिएको छ ।’ कृषि उपजमा अन्धाधुन्द विषादी प्रयोगको कारण क्यान्सर, शरीरमा हर्मोनको विकास र विस्तारमा असन्तुलन, प्रजनन शक्तिमा ह्रास, मस्तिष्कमा क्षति, श्वासप्रश्वास प्रणालीसम्बन्धी रोगहरू, मिर्गौलासम्बन्धी गम्भीर रोगहरू, छालासम्बन्धी रोग आदि लाग्ने अध्ययन अनुसन्धानले पुष्टि गरेको छ ।

विषादी अवशेष दु्रत विश्लेषण इकाई अत्तरिया चालु आर्थिक वर्षमा ४४१ नमूनाको विषादी परिक्षण गरिदा ७ नमूनामा एकदमै घातक (रेड लेवल) विषादीको मात्रा भेटिएर नष्ट गरिएको थियो भने २ नमूनामा येलो लेवलको विषादी भेटिएको थियो । ३५ प्रतिशत भन्दा कम अर्गानोफस्फोटको रोकावट दर भेटिएमा त्यसलाई ग्रिन लेवलमा राखेर खान योग्य मानिन्छ भने ३५ देखि ४४ प्रतिशत रोकावट दर भेटिएमा त्यसलाई येलो लेबलमा राखेर केही दिन पर्खिएर खान मिल्ने हुन सक्छ ४५ भन्दा माथि रोकावट दर भेटिएमा भने त्यसलाई रेड लेवलमा राखेर नष्ट गर्ने गरिएको छ ।

गत आर्थिक वर्षमा २ हजार ५३२ तरकारीका नमूनाको विषादी परिक्षण गरिएकोमा १३ तरकारीका नमूनामा रेड लेवल विषादी भेटिएको थियो । जसमा कैलाली, कञ्चनपुरका ५/५, बैतडीका २ र डडेल्धुराका १ नमूना थिए । सीमित ठाउँमा थोरै नमूनाको परिक्षण गर्दा पनि छ्यापछ्याप्ती विषादी भेटिने गरेको भएपनि यसको नियमनमा भने खासै चासो देखाएको पाइदैन । यसरी अन्धाधुन्द विषादी प्रयोग गर्ने किसानलाई सामान्य चेतावनी समेत दिएको पाइदैन् ।

कृषि उपज थोक बजार व्यवस्थापन समितिका अध्यक्ष नन्दलाल भट्टले किसानलाई घातक विषादीको प्रयोग गर्नबाट रोक्न एक व्यक्तिको प्रयासबाट मात्रै सम्भव नभएको बताए । उनले अन्धाधुन्द विषादीको प्रयोग रोक्न किसान संगै विषादी बिक्रेतालाई सजग गराउन आवश्यक रहेको बताए । उनले किसानलाई सचेत गराउन पालिका स्तरमा सचेतनाका कार्यक्रम सञ्चालन गरी विषादी बिक्रेता माथि निगरानी राख्न आवश्यक रहेको बताए ।

EDV bipin Stationary
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.