टीकापुर – कैलालीको टीकापुर केराखेतीका लागि ६० लाख विनियोजन गरिएको छ । केराखेतीका लागि राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजनाको कृषि कार्यक्रम कार्यान्वयन एकाइले केरा खेतीका लागि ६० लाख विनियोजन गरेको हो ।
कार्यान्वयन एकाइका सूचना अधिकारी दिलीपजङ्ग रानाले चालु आर्थिक वर्षमा मात्रै केराखेतीका लागि आयोजनाले रु ६० लाख बजेट विनियोजन गरेको बताए । ‘यस वर्ष हाम्रो कमाण्ड क्षेत्रभित्र ६० हेक्टर क्षेत्रफलमा केराखेती विस्तारको लक्ष्य लिएका छौँ । अहिले किसानले केराखेतीका लागि कार्यालयमा आएर सम्झौता गर्ने काम भइरहेकाले कति हुन्छ, यकिन भन्न सकिने अवस्था छैन’, सूचना अधिकारी राना भन्छन् ।
कृषि कार्यक्रम कार्यान्वयन एकाइले टीकापुरमा विषादीरहित बजारीकरणका लागि केरा पकाउने च्याम्बर पनि निर्माण गरेको छ । जसमा एकाइको रु एक करोड ९० लाख खर्च भएको छ भने उपभोक्ताको रु एक करोड ५० लाख खर्च भएको छ । निर्माण सम्पन्न भएको चार वर्ष हुनलाग्दा पनि च्याम्बर पूर्णरूपमा सञ्चालनमा आउन सकेको छैन ।
च्याम्बरमा पकाएको केरा बजार पुर्याउँदासम्म महँगो हुन थालेपछि व्यापारीले केरा किन्न छाड्दा केही महिना सुरु भएको च्याम्बर बन्द भएको हो । टीकापुर क्षेत्रमा हाल एक हजार दुई सय बिघा क्षेत्रफलभन्दा बढी जग्गामा केराखेती हुँदै आएको छ । यो वर्ष दुई सय बिघा केराखेती विस्तार भएको व्यवसायी टेकेन्द्र धामी बताउँछन् । किसान धामीले केराको बेर्ना पनि बेच्दै आएका छन् ।