बाल्यकालको समय कर्कलाको पानी


जीवन एउटा वृत्त आकारमा घुमिरहेको यात्रा रहेछ । जीवनको जन्म देखि मृत्यु सम्मको यात्रामा विभिन्न संघर्ष र अवसरहरू भोक्नु पर्ने रहेछ । यी मेरा जिन्दगीका घाम, छाँयाहरु खै कसलाई सुनाउँ, मेरा मनका भावनाहरू । बाहिरबाट सबैले मेरो जीवन ठिकठिकै चलेजस्तो देख्छन् तर…

maya metro hospital

‘अचानोको पीर खुकुरीलाई के था भनेझै’ दुनियालाई मेरो पिर के थाहा ।

यो एउटा समय न हो कस्तो निष्ठुरी रहेछ, जीवनको यो समयले कहाँबाट कहाँको बाटो देखाउँदो रहेछ, समयसँगै चलिरहेको जीवन अनि ‘आगो सँगै बोलिरहेको दाउरा एउटै हुँदो रहेछ । कहिले दनदन बल्ने त कहिले सेलाएर बल्ने ।’

attariya hospital

समयको महत्व जीवनलाई अनि जीवनको महत्व समयलाई हुँदो रहेछ ।

खै कसरी सोचुँला, खै कसरी लेखुँ त्यो बाल्यकालको निष्ठुरी समय, त्यो समयले मलाई यसरी चटक्क छोडेर जान्छ भन्ने सोचेको पनि थिएन । अब त लाग्छ त्यो बाल्यकालको समय जीवनको सपना  अनि अविस्मरणीय समय रहेछ ।

आज धेरै वर्ष पछि त्यो बालापनको समय कापीका पन्नामा कोरी रहँदा मेरो आँखाले प्रत्यक्ष मेरो जन्म घर, अनि ती दौँतरी साथीसंगी र हरियाली डाँडापाखा देखिरहेका छन् । मेरा कानले ती खोलीमा बग्ने कलकल पानी र चराचुरुङ्गीको चिरिबिरी आवाज सुनिरहेका छन् । अनि मेरो मनले त्यो घाम पानी धुलो माटो नभनी संघर्ष गर्ने आमाबुबाको माया महसुस गरिरहेको छ । लाग्दैछ त्यो बाल्यकालको समय स्वर्गमा पनि पाउँदैन होला जस्तो ।

म विवश छु । जिन्दगीको उतारचढावमा कहीं लाचारताको प्रतिमूर्ति हो । कास, म समयलाई फर्काउन सक्थे यदि समय मेरो बसमा हुन्थ्यो त ! म जीवनको भागदौडबाट फुत्किएर एकै सासमा दौडिँदै बाल्यकालमा पुग्ने थिए । भो मलाई चाहिँदैन पैसामा अडिएका सम्बन्ध अनि क्षणिक सुख । बस म यही निर्मल बाल्यकालमा आफूलाई खोज्न चाहन्छु, किनकि यो हजारौं सम्बन्ध अनि सपनाको  भिडमा पनि एक्लिएको छु ।
कठै !  ती हरियाली डाँडापाखा र खेतबारीहरु, त्यस्तै हरियाली र सुन्दर छन् की  उजाड र उदास लाग्दा भए होलान् ? ती  सुन्दर डाँडाबाट बहने शिरशिर बतास् बही रहेको होला कि नहोला ? त्यो डाँडामाथिको पिपलको भोटमा बस्ने न्याउली चरी बास्छन् की बास्दैन होला। अहँ ! सोच्न समेत सक्दिनँ आमाले भुटि दिएका मकै खाँदै गोरु चराउँदै गाएका गीतहरू । 

थाहा छ मलाई अझै पनि पल्लाघरे हर्केले मलाई गोरु चराउँदा पिटेको अनि बाख्रा दिनभरि चराउन लगाएको । एक दिन त हर्के र म खोलामा माछा मार्दै गर्दा हाम्रो बाख्राले मल्लाघरे भ्यान्टेको सरु खाएर हामीलाई दिनभरी रूखमा बाँधेको कहाँ बिर्सिन सक्छु र । 

खै कसरी बित्यो त्यो समय थाहा छैन । तर आँखिर समय न हो आफ्नो गति र भेगमा परिवर्तन हुँदो रहेछ, अनि यो प्रकृतिको नियम पनि कस्तो समयसँगै जीवनका पन्नाहरु पनि पल्टाउनुपर्ने । कस्तो अचम्म को कुरा हो है ! समय र जीवनको अन्तर सम्बन्ध ।

मलाई अझै पनि पल्लाघरे रामे अंकलले लाहुरबाट ल्याइदिएको भोटोको याद आउछ । मैले ३ दिन सम्म त त्यो भोटो आफ्नो शरीरबाट फुकालेन् । कसैले भोटोमा छोयो भने पनि रिषले रातो पिरो हुन्थ्यो  मेरो अनुहार, त्यो भोटोले आफूलाई निकै सुन्दर देखिरहेको छु जस्तो लाग्यो ।

बैतडी जिल्लाको दुर्गम स्थानको सानो अनि सुन्दर गाउँमा जन्मिएको म । घरबाट स्कुल गर्न पनि एक घण्टाको समय लाग्थ्यो । घरबाट सबै साथीहरु बिहान ८ बजे नै स्कुल जान  तयार हुन्थ्यौं । १० बजे स्कुल पुग्नु पर्ने तर हामीहरु कहिलेकाहीँ ११ बजे पुग्थ्यौँ भने कहिले त बाटोबाटै घर फर्किन्थ्यौँ ।

रमाइलो कुरा त के छ भने हामी घरबाट स्कुल जान्छौँ भनेर जाने, अनि डाँडा माथिको  बाँझो घरको गोठमा दिनभरि खेलेर बस्ने र साँझमा स्कुलबाट घर फर्किने समयमा घर फर्किने गर्थ्यौँ । त्यो डाँडामाथिको बाँझो घरको गोठमा खेल्दाको रमाइलो छुट्टै आनन्दको हुन्थ्यो । हामी बालुवाका घर, रोड सिसाकलम कटरका गाडी बनाएर खेल्थ्यौँ ।

एक दिन त सानो कुरामा कविता र मानेको झगडा भएर जोर जोरले बोल्दा एकजना गाउँका अङ्कलले थाहा पाएर बेसरी सिस्नु लगाएको कहाँ भुल्न सकिन्छ र !

अब, केबल एउटा मात्र घिटीघिटी छ मनमा, बस त्यो  बाल्यकालको समयलाई एक पटक फर्काउन सकूँ ताकी शून्यतामै बित्दै गएका मेरा हरेक साँझले पुनः जीवनको सास फेर्न सकोस् । फेरी यो मनले बाल्यकालको आभाष गर्न पाओस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.