सुदूरपश्चिममा एचआइभी : ४ महिनामा ७१ जना सङ्क्रमित, १ वर्षमा ६४ को मृत्यु

अत्तरिया- सुदूरपश्चिम प्रदेशमा चालु आर्थिक वर्षको चार महिनामा ७१ जनामा एचआइभी सङ्क्रमण देखिएको छ । प्रदेशका नौ ओटै जिल्लामा गरिएको परीक्षणमा ७१ जनामा एचआइभी सङ्क्रमण देखिएको हो ।

maya metro hospital

स्वास्थ्य निर्देशनालयको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०८०/०८१ को साउनदेखि कार्तिक महिनासम्ममा बाजुरा, बझाङ, दार्चुला र डडेल्धुराका एक/एक जनामा सङ्क्रमण देखिएको छ । त्यस्तै, बैतडीका ६ जना, डोटीका ५ जना र अछामका ९ जनामा एचआइभी सङ्क्रमण पत्ता लागेको छ ।

सङ्क्रमण देखिनेमा सबैभन्दा बढी कैलालीका छन् । जिल्लाका ३४ जनामा एचआइभी सङ्क्रमण एचआइभी सङ्क्रमण पत्ता लागेको छ । त्यसपछि सबैभन्दा बढी सङ्क्रमित कञ्चनपुरमा पाइएका छन् । जिल्लाका १३ जनामा सङ्क्रमण पाइएको छ । सङ्क्रमितहरुमा १५ वर्ष मुनिका २ जना, १५ देखि ४९ वर्षका ४९ जना र ४९ वर्ष माथिका २० जना छन् ।

attariya hospital

त्यस्तै, एक वर्षको अवधिमा प्रदेशमा ६४ जना सङ्क्रमितको मृत्यु भएको छ । गत आर्थिक वर्ष २०७९/०८० मा ६४ जना सङ्क्रमितको मृत्यु भएको हो । मृत्यु हुनेमा पुरुषको संख्या धेरै छ । ६४ जना मृतकमध्ये पुरुष ४३ जना छन् भने महिला २० र एक जना यौनिक अल्पसंख्यक छन् ।

प्रदेशमा गत वर्ष १ लाख ४४ हजार ६ सय ४९ जनाको एचआइभी परीक्षण गरिएको र २५२ जना नयाँ सङ्क्रमित पत्ता लागेको निर्देशनालयको तथ्याङ्क छ । जसमा पुरुष १४७, महिला १०३ र यौनिक अल्पसंख्यक २ जना छन् । तीमध्ये २४० जना उपचारमा दर्ता भएका छन् । २५२ जना सङ्क्रमितमध्ये कैलालीका सबैभन्दा बढी छन् ।

कैलालीमा मात्रै १२० जना सङ्क्रमित पाइएका हुन् । त्यसैगरी कञ्चनपुरमा ५३ जना, अछाममा २८, डोटीमा २४, बैतडीमा ८, बाजुरा, बझाङ र डडेल्धुरामा ६/६ जना र दार्चुलामा एक जना सङ्क्रमित पाइएका हुन् । यस्तै, ५३ हजार ९ सय ८ जना गर्भवतीको एचआइभी परीक्षण गरिएकोमा चार जना गर्भवतीमा सङ्क्रमण पाइएको छ ।

प्रदेशमा हालसम्म ५ हजार १ सय ९० जना एचआईभी सङ्क्रमित रहेको अनुमान गरिएको छ । जसमध्ये ४ हजार ७ सय १७ जनामा एचआईभी सङ्क्रमण पत्ता लागेको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.