सुदूरपश्चिममा प्रायजसो क्षेत्रमा छठ पर्वलाई त्यति उत्साहका साथ मनाईने गरेको पाईदैन । दशैतिहार जस्तो छठको रौनक हुदैन, स्थानियहरुले त्यसलाई विशेष पर्वका रुपमा लिदैनन् पनि । हुन त दशैलाई हिन्दुधर्मावलम्बीहरुको महान पर्व र तिहारलाई दोस्रो ठुलो पर्वका रुपमा लिने गरिएकाले पनि होला, ति दुई पर्वका विच छठको रौनक कम देखिएको । छठको महत्वका बारेमा जानकार हुनेहरुले पछिल्लो समय भने छठलाई पनि धुमधामका साथ मनाउन थालेका छन । सुदूरपश्चिममा केही समय अगाडी सम्म प्राय शुन्य जस्तै रहेको छठ पर्व मनाउने मानिसहरुको संख्या पछिल्लो समय भने बढ्दै गईरहेको छ ।
करिब १४ वर्ष अगाडी कैलालीकै अत्तरियामा पनि २ जना मानिसहरुले छठ पर्व मनाउन सुरु गरेका थिए । अत्तरिया दुई जना बासिन्दाहरुले मनाउन सुरु गरेपनि पछिल्लो समय भने छठ पर्व मनाउनेको संख्या ह्वात्तै बढेको छ । २ जना बाट सुरु भएको छठ पर्व मनाउने परिवारको संख्या यो वर्ष सम्म आईपुग्दा एक सय परिवार भन्दा बढी पुगिसकेका छन । यहाँका स्थानियहरुले विभिन्न नदी किनारहरुमा टेन्ट लगाएर छठ पर्व मनाउने गर्दछन । छठ पर्वमा रातभरी जाग्राम बसी बिहानैको उदाउदो सुर्यको पुजा गर्ने र साँझ अस्ताउदो सुर्यको पनि पुजाआजा गर्ने चलन छ । नेपालको पुर्वी क्षेत्रतिर छठ पर्व धुमधामका साथ मनाईने गरिएको भएपनि सुदूरपश्चिम तिर भने यसको रौनक खासै हुदैन । यहाँ छठ पर्व मनाउने परिवारले व्यक्तिगत रुपमा आर्थिक संकलन गरेर टेन्ट लगायतका सामग्रीहरुको जोहो गर्ने गर्दछन ।
छठ पर्व नेपाल र भारतका उक्तरीय क्षेत्रमा हिन्दूहरूले मनाउने एक महत्वपूर्ण पर्व हो । यो पर्वमा षष्ठी भगवतीको पूजा अर्चना गरी पुत्र, पति र परिवारको कल्याणको कामना गर्ने गरिन्छ । नेपालको विशेष रूपले तराई (मधेश) क्षेत्रमा श्रद्धा एवं भक्तिपूर्वक यो पर्व मनाइन्छ । यस पर्वको अवसरमा पञ्चमीका दिनदेखि व्रत बस्ने महिला तथा पुरुषले निष्ठापूर्वक पवित्र जलाशयमा स्नान गरी बेलुकीपख दूध, चामल र सख्खरको खीर पकाई प्रसादको रूपमा आफूले खाने र व्रत नबस्ने परिवारका सदस्यलाई पनि ख्वाउने चलन छ ।
श्रद्धापूर्वक मनाइने छठ पर्वका लागि ढाकी, नाङ्लो, कोनियाँ, डगरी, उखु, केरा, हल्दी, अदुवा, निम्बु, मुला, नरिवल, पान, सुपारी सहितका फलफूल तथा माटोका हाथी, ढकनी, घैला र नयाँ व्रतालुका लागि नयाँ कपडा, घाट सजाउनमा प्रयोग हुने लगायतका सामग्रीको प्रयोग गरिन्छ । छठको दिन सूर्यलाई चढाउनका लागि बनाइएका सामग्री घाटमा लगेर पालैपालो पानीमा डुबाई सूर्य देवलाई चढाउँछन् । व्रतालु भक्तजनहरू राती धेरैजसो नदी किनारमा बास बस्छन् भने केही घर फर्किन्छन् । तर शुद्धाशुद्धिको धेरै विचार गर्नुपर्ने भएकाले कहीं कतै अशुद्ध नहोस् भन्नेमा उनीहरू सजग हुन्छन् । शुद्ध भावनाले यो व्रत गर्नाले तुरुन्त फल पनि पाइने धर्मावलम्बीहरूको विश्वास छ । त्यसकारण मनले मात्र शुद्ध नभएर सबैथोक चोखो हुनुपर्ने हुनाले व्रतालुहरूले मात्र नभई सम्पूर्ण परिवारले नै यसलाई कडाइका साथ पालना गर्ने गर्दछन ।
परम्परा अनुसार छठका दिन साँझ अस्ताउँदो सूर्यलाई जलाशयमा उभिएर पूजासहित अर्घ दिएपछि रातभर नदी तथा तलाउ किनारमा बसी भजनकीर्तन गर्दै भोलिपल्ट सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पुनः अर्घ दिई पूजा विसर्जन गरिन्छ । यस पर्वमा मुस्लिम समुदायका व्यत्ति पनि सहभागी हुन्छन । पवित्र मनले छठ पर्व मनाउँदा पारिवारिक कल्याण, सन्तानसुख तथा मनोकामना पूरा हुने विश्वास गरिन्छ । मनोकांक्षा पूरा गर्न र परिवारको कल्याण, रोगको निवारणका लागि सूर्यदेवको पूजा गर्ने गरिएको किंवदन्ती छ । छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने विश्वास छ ।