बझाङ – भूकम्प पीडितहरुको अवस्था बुझ्न पूर्वगृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बझाङ पुगेका छन् । बुधबार साँझ बझाङ पुगेका उनले भूकम्प पछि घाइते भएका र विस्थापितहरुलाई भेटेका छन् ।
बझाङको वित्थडचिर, केदारस्युँ गाउँपालिकामा भूकम्प पीडितसँग भेटघाट गरी अबेर सदरमुकाम चैनपुर पुगेका लामिछाने भूकम्पका कारण बाहिर बसिरहेका सदरमुकामका स्थानीय र घाइतेहरुलाई भेटेका थिए । बिहीबार बिहान प्रमुख जिल्ला अधिकारी लगायत सुरक्षाकर्मी र स्थानीयसँग भेटघाट गरेका लामिछानेले पीडितहरुलाई राहत समेत वितरण गरेका छन् ।
उनले विपद्मा परेकाहरुलाई सान्त्वना दिन बझाङ आएको र यहाँको समस्या प्रति गम्भीर बन्न सदन र अन्य निकायमा आवाज उठाउने बताए । ‘विपद्मा परेकाहरु कस्तो समस्या भोगिरहेका छन् भनेर आफ्नै आँखाले हेर्न र सान्त्वना दिन यहाँ आएको हुँ,’ सदरमुकाममा आयोजित पत्रकार भेटघाटमा उनले भने, ‘काठमाडौं गएर सदन र अन्य निकायमा यहााको समस्या प्रति गम्भीर बन्नका लागि सरकारलाई घच्घच्याउने काम गर्ने छु ।’
उनले विपद् व्यवस्थापन समिति र सुरक्षकर्मीहरु विपद् पीडितको राहत र उद्धारका लागि आफ्नो क्षमताले भ्याएसम्म जुटिरहेको तर विपद्को सामना गर्न राजनीतिक इच्छाशक्ति नदेखिएको बताए ।
‘मान्छेहरु बाहिरै असुरक्षित तरिकाले बसिरहेका छन् । सुरक्षित भएका सरकारी भवनकै एक–एक तला खाली गरेर पनि मानिसहरुलाई व्यवस्थापन गर्न सकिन्थ्यो ।
राजनीति इच्छाशक्ति भए त्यो सम्भव पनि हुन्थ्यो तर त्यसो देखिएन,’ उनले भूकम्प पीडितको राहत उद्धार र पुनर्स्थापनाको लागि गम्भीर बन्नका लागि ध्यानाकर्षण गराउन आफूले प्रधानमन्त्रीलाई पनि भेट्ने बताए ।