सुदूरपश्चिमका ७ साहित्यकार, जसले पाए मदन पुरस्कार

धनगढी – विसं २०२८ मा तत्कालीन प्रशासक बझाङका स्थिरजङ्गबहादुर सिंहले ‘कर्णाली लोकसंस्कृति’ नामक अनुसन्धानात्मक सङ्ग्रहका लागि प्रदीप रिमाल, चुँडामणि बन्धु, विहारीकृष्ण श्रेष्ठ र सत्यमोहन जोशीसँगै मदन पुरस्कार जिते । कर्णाली क्षेत्रको इतिहास, भूगोल, समाज, भाषा र साहित्यको वर्णन गरी पाँच खण्डमा लेखिएको उक्त पुस्तकले बझाङका सिंहलाई सुदूरपश्चिमबाटै पहिलो पटक मदन पुरस्कार दिलाएको थियो ।

maya metro hospital

विसं २०२८ को दशकमा सुदूरले पाउन थालेको मदन पुरस्कार यहाँ लेखनमा सक्रिय भएकाले विसं २०८० को दशकमा पनि सुदूरले उक्त पुरस्कार प्राप्त गरेको छ। विसं २०५४ मा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको विसर्जन कथा सङ्ग्रहले मदन पुरस्कार प्राप्त ग¥यो । नेपाली साहित्यमा कथा विधामा मदन पुरस्कार पाउने चन्द पहिलो कथाकार हुन् । उनले मदन पुरस्कार कृतिप्रतिको सम्मान भएको बताए ।

‘नेपाली कला, संस्कृतिका लागि मदन पुरस्कार एक प्रेरणा हो’, उनले भने, ‘अहिलेसम्म राम्रै पात्रलाई यो पुरस्कार दिइएको देख्छु ।’ उनले हालै मदन पुरस्कार पाउने ‘ऐँठन’ पुस्तक आफूले अध्ययन गर्ने बताए । पछिल्लो समय विसं २०७९ को मदन पुरस्कार कैलालीको टीकापुरका विवेक ओझाको ऐँठनले पाएको छ । पुरस्कार विजेता ओझाले पुरस्कारले लेखनमा थप जिम्मेवारीसँगै सक्रियता बढाउने बताए ।

attariya hospital

‘गुठीलाई धेरै धन्यवाद दिन चाहन्छु, पुरस्कारले मेरो लेखनलाई अझै सशक्त बनाउन बल पुग्नेछ’, उनले भने, ‘लेखकको चाहना धेरैले पुस्तक पढुन्, पुस्तकबारे चर्चा गरुन् भन्ने हुन्छ । त्यसमाथि देशकै गौरववान्वित पुरस्कार पाउँदा खुसी लागेको छ । लेखनका माध्यमबाटै थप पाठकको माया पाउने अपेक्षा छ ।’ विसं २०४८ मा अछामको तत्कालीन दर्ना गाविस–३ मा जन्मिएका ओझाले प्रवीणता प्रमाणपत्र तहसम्मको पढाइ टीकापुरबाट प्राप्त गरेका थिए ।

स्नातकतह व्यवस्थापन विषयमा मीनभवन क्याम्पस बानेश्वर र स्नातकोत्तरसम्मको पढाइ शङ्करदेव क्याम्पस काठमाडौँबाट पूरा गरेका ओझाले आफ्नो लेखनलाई अगाडि बढाउँदै गए । आफ्ना दाजु सुशील ओझाको लेखाइबाट प्रभावित भएका ओझा सानो हुँदा गजल तथा मुक्तक लेख्ने गर्थे । लेखनलाई निरन्तरता दिँदै ओझाले २०७० सालमा ‘एक पाइला’, ‘आकाशमा गजल सङ्ग्रह’ र २०७४ सालमा उपन्यास ‘ऐलानी’ बजारमा ल्याए ।

‘मेरो दाई सुशील प्रेरणाका स्रोत हुन्, त्यससँगै परिवार, साथीभाइ, पब्लिकेशन सबैको साथ मिल्यो जसले मलाई लेखनमा लागिरहन हौसला मिल्यो’, ओझाले भने, ‘पुस्तक लेखनमा हौसला प्रदान गर्ने सबैलाई धन्यवाद दिन्छु, यो पुरस्कारले मलाई थप हौसला र जिम्मेवारी मिलेको छ ।’ छोराका तीनवटा कृति बजारमा आउँदा एउटाले देशकै प्रतिष्ठित मानिने पुरस्कार पाएकामा आफूलाई निकै खुसी लागेको लेखकका पिता कृष्णप्रसाद ओझाले बताए ।

‘छोराभन्दा पनि म आफैँ सफल भएको महसुस गरेको छु, पुरस्कारपछि परिवारमा सबै खुसी भएका छौँ’, उनले भने, ‘आगामी दिनमा छोरालाई र अन्य लेखन कार्यमा लागेका व्यक्तिलाई निरन्तर आफ्ना काममा लागिरहन सल्लाह दिन्छु ।’ ओझाका बुवा मात्र होइन यो पुरस्कारले यहाँका साहित्यकार पनि खुसी भएका छन् ।

‘कैलालीवासीका लागि यो पुरस्कारले यस क्षेत्रको साहित्य क्षेत्रलाई विकास गर्न हौसला दिन्छ’, टीकापुरका मीनबहादुर थापा मिलनले भने, ‘विवेक जीलाई बधाई, हामीलाई पनि यो पुरस्कारले हौसला मिलेको छ ।’ विसं २०६३ मा सुदूरकै महेशविक्रम शाहको ‘छापामारको छोरो’ ले मदन पुरस्कार प्राप्त ग¥यो । नेपाल प्रहरीका अवकाशप्राप्त डिआइजी शाह बहालमै रहँदा उक्त पुस्तक प्रकाशित भएको थियो। उनको टीकापुरमासमेत बसोबास रहेको छ ।

प्रारम्भिक अवस्थादेखिकै ओझाको लेखन आफूले पढिरहेको बताउँदै यो पुरस्कारले सुदूरकै साहित्यलाई हौसला मिलेको शाहले बताए । ‘मैले आफूले पनि द्वन्द्वका विषयमा लेखेको छु’, उनले भने, ‘मैले लेख्दा द्वन्द्वका विषय जस्ताका तस्तै लेख्ने सामर्थ्य थिएन, उहाँको ऐँठनमा युद्ध र द्वन्द्वले कति नकारात्मक बनाउँछ भन्ने देखिन्छ ।’ शाह यो पुरस्कारले सुदूरपश्चिमका साथै सबै लेखकका लागि खुसीको कुरा भएको बताए ।

त्यस्तै, २०६६ सालमा कञ्चनपुरको भीमदत्त नगरपालिकाका नरबहादुर साउदले ‘नेपालका बालीनाली र तिनको दिगो खेती’ नामक पुस्तकका लागि मदन पुरस्कार प्राप्त गरे । अपाङ्गता भएका साउँदले त्यसपछि पनि केही पुस्तक बजारमा ल्याएका छन्। उक्त पुस्तक साझा प्रकाशनले बजारमा ल्याएको थियो । कृषि विषयमा मदन पुरस्कार प्राप्त गर्ने साउद पहिलो व्यक्ति हुन् ।
ह्वीलचेयरमा बसेर लेखनी यात्रालाई निरन्तरता दिँदै आएका साउँद अहिले महेन्द्रनगरस्थित शारदा विद्यापीठमा संस्कृत अध्ययनरत छन् । विसं २०७१ मा पत्रकार विजयकुमार पाण्डेको ‘खुसी’ले मदन पुरस्कार पायो । बैतडी पुर्ख्यौली घर भएका पाण्डेको यो पुस्तकले त्यस बेला धेरै बजार लिएको थियो । कैलालीका रामलाल जोशीको कथासङ्ग्रह ‘ऐना’ ले २०७२ सालको मदन पुरस्कार प्राप्त गरेको थियो ।

कथासङ्ग्रह ‘ऐना’का लेखक जोशीले ओझाको ऐँठनले मदन पुरस्कार पाएपछि निकै खुसी लागेको बताए । ‘हर्षले प्रफुल्लित छु, मेरो विजययात्राको कडीका रुपमा यस पुरस्कारलाई लिएको छु’, उनले भने, ‘मैले २०७२ सालको पुरस्कार पाउँदा नेपाली साहित्य सुदूरपश्चिमतिर फर्कन्छ भनेको थिए ।’

साहित्यकार जोशीका अनुसार नेपाली साहित्यका लेखिनुपर्ने धेरै विषय पश्चिममा बाँकी थिए र छन् । ‘पश्चिमका स्रष्टा क्षमता भएर पनि मूलधारमा जोडिन बाँकी थिए। ऐँठन नेपाली राजनीतिको दुर्दान्त घटना हो’, उनले भने, ‘ऐँठन नेपाली समाजको पीडाको उत्कर्ष पनि हो । अब सुदूरका धेरै विषयले साहित्यमा स्थान पाउने छन्। नेपाली साहित्यमा सुदूरका साहित्यकारले नेतृत्व गर्नेछन ।’

रासस

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.