खाेज्नुहाेस

कैलालीमा मौसमी रोगबाट बच्न टोलटोलमा स्वास्थ्य सरोकार समिति

Image

कैलाली – टीकापुर नगरपालिका–८ मा मौसमी रोगबाट बच्न टोलटोलमा स्वास्थ्य सरोकार समितिमार्फत समुदायमा सचेतना जगाउन थालिएको छ । यहाँस्थित धनसिंहपुर स्वास्थ्य चौकीले मौसम अनुसारका विभिन्न सर्ने तथा नसर्ने रोगबारे समुदायलाई सचेत गराउन समुदायमा स्वास्थ्य सरोकार समिति गठन गरेर जानकारी दिन थालेको हो । ८ नं वडामा रहेका १७ वटा टोल विकास संस्थामा १७ वटा स्वास्थ्य सरोकार समिति गठन गरेर स्वास्थ्य सचेतना सञ्चालन गरिएका छन् ।

साथै हरेक टोल विकास संस्थाको अध्यक्ष स्वास्थ्य सरोकार समितिको सदस्य रहने गरी वडाअध्यक्षको नेतृत्वमा वडास्तरीय स्वास्थ्य सरोकार समिति गठन गरिएको हो । सरोकार समितिले हरेक महिना समुदायका स्वास्थ्य समस्याबारे छलफल गर्ने, मौसम अनुसारका रोगबाट बच्ने उपायबारे जानकारी दिने गरेका छन् ।

attariya hospital
navjiwan hospital

जलवायु परिवर्तन र मौसम परिवर्तनका कारण मानिसमा देखापर्ने स्वास्थ्य समस्याबारे समुदायलाई सचेत गराउन थालिएको स्वास्थ्य चौकीले जनाएको छ । त्यसपछि वडा स्तरीय समितिमा तीन÷तीन महिनामा सरोकार समितिका स्वास्थ्यसम्बन्धी भएका काम र समस्याबारे छलफल गर्ने गरिएको छ । स्वास्थ्य सचेतनाका लागि स्वास्थ्य चौकीले दिएका १४ बुँदा सरसफाइ, खानपान, दैनिक जीवनशैली, स्वस्थकर व्यवहार आदिबारे स्वास्थ्य सरोकार समितिमा छलफल हुने गरेको स्वास्थ्य सरोकार समितिका अध्यक्ष मालती साउँदले बताए ।

सरोकार समितिमा उत्कृष्ट काम गर्नेलाई पुरस्कृत गर्ने गरिएको छ । समितिलाई एक लाख रुपैया बराबरको स्वास्थ्य सामग्री प्रदान गरिनेछ । यस वर्षबाट सरोकार समितिलाई स्वास्थ्य सचेतनाका लागि आवश्यक सामग्री उपलब्ध गराउने तयारी रहेको उनले जानकारी दिए ।

उच्च रक्तचाप जाँच गर्ने मेसिन, तौल लिने मेसिनलगायत प्राथमिक उपचार सामग्री उपलब्ध गराइने शाहले बताए । वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाले वडा नम्बर ८ विकट र सीमासँग जोडिएको पालिका भएकाले पनि नागरिकलाई रोग लागेर उपचार गर्नुभन्दा, रोग लाग्न नदिनका लागि सचेत गराउन निरन्तर कार्यक्रम गरिरहेको बताए । ठकुल्लाका अनुसार चालु आर्थिक वर्षदेखि नागरिकलाई विशेषज्ञ सेवा दिन ‘स्मार्ट हेल्थ’ कार्यक्रम सुरु गरिएको छ । ‘कार्यक्रममा भिडियो कलमा विशेषज्ञ चिकित्सकलाई जोडेर स्वास्थ्य सेवा दिइन्छ’, उनले भने, ‘समुदायमा स्वास्थ्य समस्या र निदानबारे छलफल गर्दा विभिन्न मौसममा देखिने स्वास्थ्य समस्याहरू पहिचानमा सहज भएको छ। समयमै उपचार पाउँदा रोग फैलनबाट जोगिने भएकाले यो कार्यक्रमलाई निरन्तरता दिने योजना छ ।’