काठमाडौँ । चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटमा नेपाली टोली क्वार्टरफाइलमै पराजित भएको छ । मंगलबार खेलिएको क्वार्टरफाइनलमा भारतले नेपाललाई २३ रनले हराएको हो । हारसँगै एसियाली खेलकुदको पुरुष क्रिकेटमा नेपालको यात्रा समाप्त भएको छ ।

भारतले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित ओभरमा ४ विकेट गुमाएर २०२ रन बनाएको थियो । भारतका लागि ओपनर ब्याट्सम्यान यशस्वी जैसवालले एक सय रन बनाए । जैसवाल र रुतुराज गाइकवाडले ओपनिङ विकेटका लागि १०३ रनको साझेदारी गरेका थिए । गाइकवाड २५ रन बनाउँदै आउट भए ।

भारतका लागि शिवम दुबेले अविजित २५ रन र रिन्कु सिंहले अविजित ३७ रन बनाए । नेपाली बलर दीपेन्द्र सिंह ऐरीले दुई तथा सन्दीप लामिछाने र सोमपाल कामीले एक—एक विकेट लिए ।
जवाफी ब्याटिङमा ओर्लिएको नेपालले भने निर्धारित ओभरमा ९ विकेट गुमाएर १७९ रनमात्र बनाउन सक्यो । नेपालका ब्याट्सम्यान आसिफ शेले १०, कुशल भुर्तेलले २८ र कुशल मल्लले २९ रन बनाएका थिए । यसैगरी दीपेन्द्रसिंह ऐरी १५ बलमा चार छक्काको मद्दतले ३२ रन बनाउँदै आउट भए । नेपालले छैटौँ विकेटका रूपमा सन्दीप जोरालाई गुमाएको थियो । उनी १२ बलमा तीन छक्का र एक चौकाको मद्दतले २९ रन बनाउँदै आउट भएका हुन् । नेपालले सातौँ विकेटका रूपमा सोमपाल कामीलाई गुमाएको थियो । उनी पाँच बलमा एक छक्काको मद्दतले सात रन बनाउँदै आउट भएका थिए ।
आठौँ विकेटका रूपमा गुल्सन झा पेभेलियन फर्किएका हुन् । उनी ६ रन बनाउँदै आउट भएका थिए भने नवौँ विकेटका रूपमा सन्दीप लामिछाने आउट भएका थिए । उनी पाँच रन बनाउँदै पेभेलियन फर्किएका हुन् । करण केसी १८ रन बनाउँदै अविजित रहे । उनले १३ बलमा दुई छक्का र एक चौका हिर्काए । अविनाष बोहरा शून्य रनमा अविजित रहे । नेपालको फिल्डिङ खासै प्रभावकारी देखिएन । नेपाली फिल्डरले केही गतिला अवसरलाई खेर फालेका थिए ।