धनगढी – कैलालीको धनगढी उपमहानगरपालिकाले तीन दिन धान नकाट्न किसानलाई आग्रह गरेको छ । पानी पर्ने सम्भावना रहेको भन्दै उपमहानगरपालिकाले सोमबार देखि बुधबार सम्म धान नकाट्न किसानलाई आग्रह गरेको हो ।
जल तथा मौसम विज्ञान विभागले पनि नेपालबाट मनसुन बाहिरिने दिन लम्बिएका कारण किसानलाई तत्काल धान नकाट्न र काटेको भए भित्र्याइहाल्न आग्रह गरेको छ ।
यही समयमा पानी परेका कारण दुई वर्षअघि धनगढीमा ठूलो मात्रामा धानबालीमा क्षति पुगेको थियो । त्यस समयमा किसानहरूले धान काटेर राखेका थिए । अहिले पनि पानी परे काटेको धानबालीमा क्षति हुनसक्ने भएकोले समयमै सचेत हुन उपमहानगरपालिकाले अनुरोध गरेको हो ।