दार्चुला – दार्चुलाको दुहुँ गाउँपालिकाले एकल पुरुषलाई मासिक पाँच सय रुपैयाँ भत्ता दिने भएको छ । पालिकाभित्रका सबै एकल पुरुषलाई सामाजिक सुरक्षाबापत मासिक भत्ता दिने भएको हो । दुहुँ गाउँपालिकाले सूचना जारी गर्दै भत्ता पाउन उमेर पुगेका व्यक्तिलाई वडा कार्यालयमा सम्पर्क गर्न भनेको छ ।

गाउँपालिकाले गैरदलितको हकमा ५० वर्षदेखि ६७ वर्ष ननाघेको तथा दलितको हकमा ५० वर्ष देखि ५९ वर्ष ननाघेको पुरुषलाई मासिक भत्ता उपलब्ध गराउने निर्णय भएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरसिंह धामीले जानकारी दिए ।

गाउँपालिकाको आव ०८०/८१ को नीति तथा कार्यक्रममा समावेश गरी एकल पुरुषलाई भत्ता दिने निर्णय गरेको हो ।